२०८३ असार ६ गते, शनिबार १९:०९

बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर दुई जनाको ज्यान गयो

काठमाण्डौ/बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा एक–एक जनाको ज्यान गएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ महभीरमा आफ्नै काक्रोबारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर ६८ वर्षकी कमला मुल्मी ज्यान गएको हो ।

हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परी ६६ वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ ।

घर नजिकै रहेको खेतमा धानको बीउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमै ज्यान गएको हो । दुवै घटनामा ज्यान गइसकेपछि आफन्तले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनाबारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM