२०८३ असार ५ गते, शुक्रबार ०९:५७

दुई चिकित्सकसहित पाँच जना पक्राउ

नेपालगञ्ज । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न तथा नवीकरणका लागि आवश्यक पर्ने स्वास्थ्य परीक्षणमा अनियमितता गरेको आरोपमा नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयबाट दुई चिकित्सकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार चालक अनुमतिपत्रका लागि अनिवार्य रूपमा चिकित्सकीय परीक्षण गरी आधिकारिक मेडिकल प्रतिवेदन उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था विपरीत प्रतिव्यक्ति २०० रुपैयाँ लिएर स्वास्थ्य परीक्षण नगरी नै निरोगिताको प्रमाणपत्र वितरण गरिएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।

प्रहरी टोलीले कार्यालयमा निगरानी तथा स्थलगत अवलोकन गर्ने क्रममा प्रारम्भिक रूपमा अनियमितता देखिएपछि दुई चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिएको डीएसपी राठौरले जानकारी दिए।

अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सक तथा बिचौलियाको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM