२०८३ असार ४ गते, बिहीबार १४:५९

अवैध लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँछन् हर्क

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) हर्कराज राई (हर्क साम्पाङ) को सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) स्वतः रद्द भएको खुलेको छ । यातायात व्यवस्था कार्यालय, इटहरीको रेकर्ड अनुसार सांसद साम्पाङले विगत १० वर्षदेखि आफ्नो लाइसेन्स नवीकरण गराएका छैनन्।

अभिलेख अनुसार उनले अन्तिम पटक २०७१ साल पुस ६ गते जरिवाना तिरेर ‘ए’ क्याटेगरी (मोटरसाइकल) को लाइसेन्स नवीकरण गराएका थिए । त्यसयता उक्त लाइसेन्सको म्याद २०७३ पुस १२ गते समाप्त भएको भए तापनि हालसम्म नवीकरण प्रक्रियामा गएको रेकर्ड छैन ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५७ को कानुनी प्रावधान अनुसार म्याद समाप्त भएको ५ वर्षभित्र जरिवाना तिरेर लाइसेन्स नवीकरण नगराएमा त्यो स्वतः रद्द हुने स्पष्ट व्यवस्था रहेको छ। सोही कानुनी व्यवस्थाका आधारमा सांसद साम्पाङको लाइसेन्सको वैधता समाप्त भई स्वतः रद्द भइसकेको प्रहरी प्रधान कार्यालयको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले पुष्टि गरेको छ।

साम्पाङले जेठ २९ गते उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकल गुडाइरहेको बेला दुर्घटना भएपछि यो विषय खुलेको हो । उनले एक हातले मोटरसाइकलको ह्यान्डल समातेर अर्को हातले भिडियो खिचिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वसाधारणले कारबाहीको माग गरेका थिए।

सोही आधारमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले जेठ २५ गते नै उनको नाममा ट्राफिक नियम उल्लङ्घनअन्तर्गत कारबाहीको पुर्जी (टिकट) काटेर प्रहरीको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो। कारबाही प्रक्रियाकै अनुसन्धानका क्रममा उनले प्रयोग गरिरहेको लाइसेन्स विगत लामो समयदेखि अवैध र रद्द भइसकेको तथ्य उजागर हुन पुगेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM