२०८३ असार ४ गते, बिहीबार २१:४९

सर्लाहीमा स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई युवक पक्राउ

काठमाडौं । सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित झिम पुल नजिकबाट स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई जना युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका–३ निवासी २८ वर्षीय गुडु कुमार यादव र २४ वर्षीय रुपेश कुमार यादव रहेका छन्। उनीहरू म.प्र. ०५–००१ प ११०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बेला पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूको साथबाट स्रोत खुलाउन नसकिएको नगद बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार बरामद रकममध्ये एक हजार दरका दुई हजार पाँच सय थान, पाँच सय दरका एक हजार तीन सय थान र एक सय दरका पाँच सय थान नोट रहेका छन्। बरामद नगदको कुल मूल्य ३२ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

प्रहरीले नगद, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM