वीरगंज/पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित पानी नभएको नहरको खाल्डोमा झाडीभित्र लुकाइछिपाइ राखिएको ठूलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार राति करिब ९:१० बजे उक्त स्थानमा खोजतलास गर्ने क्रममा प्लास्टिकमा प्याक गरिएको २५ वटा पोकाभित्र रहेको ३७० किलोग्राम गाँजा फेला पारेको हो।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान तथा पक्राउका लागि खोजी कार्यलाई तीव्र बनाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार बरामद भएको लागुऔषधसँग सम्बन्धित व्यक्ति तथा सञ्जालको पहिचान गरी कानुनी दायरामा ल्याउने उद्देश्यका साथ अनुसन्धान अगाडि बढाइएको छ।















