२०८३ बैशाख ३० गते, बुधबार ०२:३१

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ

वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न भएको तनावपूर्ण घटनाबारे सशस्त्र प्रहरी बलले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै पत्रकारमाथि अभद्र व्यवहार, कुटपिट तथा गालीगलौज गरिएको आरोप अस्वीकार गरेको छ। साथै, पत्रकारको मोबाइल नियन्त्रणमा लिए पनि तत्कालै फिर्ता गरिएको दाबी गरिएको छ।

सशस्त्र प्रहरी बल भन्सार गुल्म वीरगन्जका डीएसपी विकास अधिकारीका अनुसार, साँझ करिब ५ बजे केही भारतीय अटोरिक्सा चालकहरूले ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि हातपात तथा दुर्व्यवहार गरेपछि मैत्री पुल क्षेत्रमा तनाव सिर्जना भएको थियो। स्थिति नियन्त्रण बाहिर जान सक्ने अवस्था देखिएपछि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए।

प्रहरीका अनुसार घटनामा संलग्न चार जना भारतीय अटोरिक्सा चालकलाई नियन्त्रणमा लिनुका साथै चारवटा अटोरिक्सा समेत जफत गरिएको छ। भीड अत्यधिक बढेपछि स्थिति नियन्त्रणमा लिन सामान्य लाठीचार्ज गर्नुपरेको र भीडलाई भारततर्फ धकेलिएको डीएसपी अधिकारीको भनाइ छ। घटनाका क्रममा केही चालक भने भाग्न सफल भएका थिए।

यसैबीच, नेपाली पत्रकार सञ्जय कुशवाहाको मोबाइल खोसिएको विषयमा पनि सशस्त्र प्रहरीले आफ्नो धारणा स्पष्ट गरेको छ। डीएसपी अधिकारीका अनुसार, प्रेस कार्ड वा प्रेस ज्याकेट बिना भीडभाडको अवस्थामा लुकिछिपी मोबाइलबाट भिडियो तथा फोटो खिचिरहेको देखिएपछि ड्युटीमा रहेका प्रहरी कर्मचारीले मोबाइल नियन्त्रणमा लिएका थिए।

“पछि उहाँले आफू पत्रकार भएको परिचय दिनुभयो। त्यसपछि त्यहाँ रहेका प्रहरी कर्मचारी एन. ठाकुरले मोबाइल फिर्ता गर्न खोज्नुभएको थियो,” डीएसपी अधिकारीले भने, “तर उहाँले ‘अब म इन्चार्जसँगै मोबाइल लिन्छु’ भन्नुभएको थियो। त्यसपछि सबै विषय बुझेर तत्कालै मोबाइल फिर्ता गरिएको हो।”

घटनापछि सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको व्यवहार, पत्रकारहरूको कार्यक्षेत्र र सुरक्षा संवेदनशील अवस्थाबीच समाचार संकलनको विषयलाई लिएर फेरि बहस सुरु भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM