२०८३ बैशाख २८ गते, सोमबार १०:४६

चितवनमा मामाद्वारा भान्जीमाथि करणी आरोप, ६ महिनाको गर्भपछि घटना सार्वजनिक

चितवन/

चितवनको रत्ननगरमा आफ्नै मामाद्वारा १७ वर्षीया भान्जीमाथि लामो समयदेखि जबर्जस्ती करणी गरिएको आरोप सार्वजनिक भएको छ। घटनापछि किशोरी गर्भवती रहेको पुष्टि भएपछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार आमाको मृत्यु भएपछि मामाघरमा बस्दै आएकी कक्षा ८ मा अध्ययनरत किशोरीमाथि २०८० साल पुसदेखि विभिन्न समयमा जबर्जस्ती करणी गरिएको उजुरी परेको हो। आरोपितले ज्यान मार्ने धम्की दिँदै घटना बाहिर नल्याउन दबाब दिएको पीडितको बयान उद्धृत गर्दै प्रहरीले जनाएको छ।

केहि अघि पुनः दुर्व्यवहार गर्न खोजिएको अवस्थामा किशोरीले चिच्याएपछि छिमेकीहरू घटनाबारे जानकारीमा आएका थिए। त्यसपछि स्थानीयको सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ।

इलाका प्रहरी कार्यालय टाँडीले आरोपितलाई नियन्त्रणमा लिएपछि भरतपुर अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणमा किशोरी २३ देखि २४ हप्ताको गर्भवती रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले आरोपितविरुद्ध ‘हाडनातामा जबर्जस्ती करणी’ सम्बन्धी मुद्दा दायर गरेको छ। नेपालको प्रचलित कानूनअनुसार नाबालिकामाथि जबर्जस्ती करणी तथा हाडनातामा यौन हिंसासम्बन्धी कसुरमा कडा सजायको व्यवस्था रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM