काठमाडौं । नेपाल सम्बत आन्दोलनका अग्रणी व्यक्तित्व विष्णु चित्रकारको १३ औँ दिनको पुण्यतिथिको अवसरमा काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यान्क्वेटमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा उपस्थित शुभेच्छुक तथा सरोकारवालाहरूले दिवंगत चित्रकारको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए। नेपालभाषाका अगुवा तथा नेकपा (एमाले) का पुराना नेता समेत रहेका चित्रकारप्रति विभिन्न क्षेत्रका व्यक्तित्वहरूले सम्मान प्रकट गरेका थिए।
पूर्व प्रधानमन्त्री झलनाथ खनालसहित ज्योति शाक्य, नेपाल सम्बत न्हूदँ संरक्षण समाजका अध्यक्ष प्रा.डा. नरेशमान बज्राचार्य लगायतले चित्रकारको तस्वीरमा धारणी पाठ गर्दै आत्माको चिरशान्तिको कामना गरेका थिए। कार्यक्रममा मल्ल के सुन्दर (चान्सलर, नेपालभाषा एकेडेमी), आदिवासी नेवाः राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठ, नेपालभाषा मंकाः खलःका अध्यक्ष रमेशमान पिया, जगतसुन्दर ब्वनेकुथि सञ्चालक समितिका अध्यक्ष डा. चुन्दा बज्राचार्य, नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति १९४६ का अध्यक्ष प्रा. प्रेमहिरा तुलाधर, नेवाः देय् दबूका अध्यक्ष रश्मिला प्रजापति, हलिं नेवाः दबू नेपाः च्याप्टरका अध्यक्ष रमेशमान मूनीकार तथा नेवाः देय् गुथिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठलगायतले चित्रकारको बहुआयामिक योगदानको चर्चा गरेका थिए।
उनीहरूले चित्रकारले नेपालभाषा, समाजसेवा, राजनीति, पत्रकारिता, नेपाल सम्बत आन्दोलन, साहित्य तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय र स्मरणीय रहेको धारणा राखे।
जगतसुन्दर ब्वनेकुथि सञ्चालक समिति, नेपालभाषा मंकाः खलः, नेवाः देय् दबू, नेपालभाषा एकेडेमी, आदिवासी नेवाः राजनीतिक अभियान, नेपाल सम्बत् न्हूदँ राष्ट्रिय समारोह समिति, नेपाल सम्बत् न्हूदँ संरक्षण समाज तथा हलिं नेवाः दबू नेपाः च्याप्टरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
बहुआयामिक व्यक्तित्वका धनी चित्रकारको २०८२ चैत २४ गते मुस्ताङको लोमाथाङमा हृदयघातका कारण निधन भएको थियो।
यसैबीच, वर्ल्ड नेवाः अर्गनाइजेशनले पनि आफ्नो १५९५ औँ कार्यक्रममार्फत दिवंगत चित्रकारको स्मृतिमा विशेष कार्यक्रम प्रसारण गरेको जनाएको छ।
चित्रकार पूर्व प्रधानमन्त्री झलनाथ खनालका ससुरा दाजु समेत हुन्।














