२०८३ बैशाख १२ गते, शनिबार २२:०३

भीडभाडमै विषादी छर्कियो: वीरगञ्ज महानगरको लापरबाहीले जनस्वास्थ्य जोखिममा

– जलेश्वर सर्राफ 

वीरगञ्ज । सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा वीरगञ्ज महानगरपालिकाको गम्भीर लापरबाही सार्वजनिक भएको छ। साँझको समयमा बजार क्षेत्रमै तरकारी, फलफूल, चाट, पानीपुरी, प्रसादलगायतका खुल्ला खानेकुरा बिक्री भइरहेको भीडभाडको बेला महानगरले विषादीयुक्त लामखुट्टे मार्ने औषधि छर्दै गरेको देखेपछि स्थानीयवासी आक्रोशित बनेका छन्।

खानेकुरा खुला रूपमा बिक्री भइरहेका बेला हावामार्फत फैलिने रासायनिक विषादी छर्नु केवल गैरजिम्मेवारी मात्र नभई प्रत्यक्ष रूपमा जनस्वास्थ्यमा खेलबाड गर्ने कार्य भएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ। सामान्य सतर्कता र समय व्यवस्थापनको अभावले महानगरको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ।

विशेषज्ञहरूका अनुसार यस्ता विषादीयुक्त औषधि खुला वातावरणमा छर्दा त्यसको असर खाद्य पदार्थमार्फत मानव शरीरमा प्रवेश गर्न सक्छ, जसले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ। यस्तो संवेदनशील विषयमा न्यूनतम सावधानीसमेत नअपनाइनु झन् चिन्ताजनक पक्ष हो।

स्थानीय व्यवसायीहरू भन्छन्, दिनभरको व्यापार साँझतिरै बढी हुने समयमा यस्तो कार्य हुनुले उनीहरूको आम्दानी मात्र होइन, ग्राहकहरूको स्वास्थ्यसमेत जोखिममा परेको छ। “मानिसले विश्वास गरेर किन्ने खानेकुरामै विष मिसिने अवस्था आउनु अत्यन्त दुःखद हो,” एक व्यापारीले गुनासो गरे।

महानगरपालिकाले लामखुट्टे नियन्त्रण गर्ने नाममा अपनाएको यस्तो शैलीले उद्देश्यभन्दा बढी जोखिम सिर्जना गरेको देखिएको छ। स्वास्थ्यसम्बन्धी न्यूनतम मापदण्ड र समयको उचित छनोट नगरी गरिएको यस्तो कार्यप्रति जिम्मेवार निकाय मौन बस्नु अझै गम्भीर प्रश्नको विषय बनेको छ।

जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा लापरबाही गर्ने निकायमाथि कडा कारबाही हुनुपर्ने माग स्थानीयस्तरमै उठ्न थालेको छ। अन्यथा, “जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन” भन्ने प्रश्न झनै चर्किने निश्चित छ।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM