२०८३ बैशाख १२ गते, शनिबार १९:०२

जिसस सभापति अजय सोनार, शिक्षक सन्तोषसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी

वीरगंज/ केही महिनाअघि वीरगन्ज महानगरपालिका वडा नं. १५ भेडियाहीमा भएको कुटपिट घटनाले पछिल्लो समय पुनः चर्चा पाएको छ। स्थानीय मिथुन सरार्फमाथि कुटपिट भएको उक्त घटनामा संलग्न आरोपितहरूविरुद्ध अहिले प्रहरी अनुसन्धान अघि बढिरहेको छ।

पीडित मिथुन सरार्फका अनुसार जिल्ला समन्वय समितिका सभापति निरन्जन साह सोनार उर्फ अजय सरार्फको निवास अगाडि भइरहेको छलफलका क्रममा एकजना व्यक्तिलाई राजनीतिक पहुँचका आधारमा थप पीडा दिने प्रयास भइरहेको सूचना पाएपछि उनी बुझ्न पुगेका थिए। सोही क्रममा अजय सरार्फ, उनका छोरा महेश सरार्फ, दाइ त्रिलोकी साह सोनार, त्रिलोकीका छोरा सुमु प्रसाद सोनार उर्फ सन्तोष सरार्फ (सामुदायिक विद्यालयका शिक्षक) तथा सन्तोषका छोरा साहिल सरार्फले मिलेर आफूलाई कुटपिट गरेको उनको आरोप छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिन जाँदा सुरुवातमा दर्ता हुन नसकेको पीडित पक्षको भनाइ छ। त्यसपछि पीडितका पिता रामबाबु साह सोनारले उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा निवेदन दिएपछि अदालतको आदेशअनुसार प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनामा संलग्न भनिएका पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। तीमध्ये साहिल सरार्फ पक्राउ परिसकेको र अन्य चार जनाको खोजी कार्य जारी रहेको जनाइएको छ।

यस घटनालाई लिएर राजनीतिक पहुँच प्रयोग गरी मुद्दालाई प्रभावित पार्ने प्रयास भएको आरोप पीडित पक्षले लगाएको छ। यद्यपि प्रहरी प्रशासनले भने कानुनअनुसार निष्पक्ष रूपमा अनुसन्धान भइरहेको स्पष्ट पारेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकले “पर्सा प्रहरी कानूनअनुसार चल्ने संस्था भएकाले कुनै पनि प्रकारको दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा अनुसन्धान अगाडि बढाइनेछ” भन्ने धारणा व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM