काठमाडौं । एम्बुलेन्सलाई नै तस्करीको माध्यम बनाउँदै चिनियाँ चुरोट ओसारपसार गरिएको प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका–३ का ४३ वर्षीय एम्बुलेन्स चालक दावा नुर्पु तामाङ, सोही गाउँपालिका–५ का २७ वर्षीय मार्कुस तामाङ, ३२ वर्षीय सुशील तामाङ र ३६ वर्षीया सुनिता तामाङ रहेका छन्।
प्रहरीका अनुसार पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको बेत्रावतीमा नियमित चेकजाँचका क्रममा बा.प्र. ०१००२ झ ७४२६ नम्बरको एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध चुरोट फेला परेको हो।प्रहरी चौकी बेत्रावतीबाट खटिएको टोलीले एम्बुलेन्सभित्र लुकाइछिपाइ राखिएको ३ हजार ९४० बट्टा चिनियाँ चुरोट बरामद गरेको जनाएको छ।बरामद चुरोटको बजार मूल्य करिब ७० लाख ९२ हजार रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
















