वीरगंज/वीरगंजस्थित रक्त सञ्चार केन्द्रमा पछिल्लो समय रगतको चरम अभाव देखिएको छ, जसले यहाँका प्रमुख स्वास्थ्य संस्थाहरूमा उपचाररत बिरामीहरूको जीवन नै जोखिममा पार्ने संकेत देखिएको छ। रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ पाण्डेका अनुसार बिरामीहरूको संख्या बढ्दै गएको र विभिन्न जटिल शल्यक्रिया, आकस्मिक दुर्घटना तथा दीर्घरोगीहरूको उपचारका लागि रगतको माग उच्च रहेको अवस्थामा पर्याप्त रक्तदाताको अभाव हुँदा स्टोरमा प्रायः सबै ग्रुपको रगत सकिएको अवस्था छ।
नारायणी अस्पताललगायत वीरगंजका दर्जनौँ अस्पतालमा दैनिक आउने बिरामीहरूलाई आवश्यक पर्ने रगत आपूर्ति गर्ने मुख्य जिम्मेवारी बोकेको केन्द्रमै अभाव भएपछि आकस्मिक सेवाहरू समेत प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ। विशेषगरी दुर्घटनामा घाइते भएका बिरामी, सुत्केरी महिलाहरू, क्यान्सर तथा मिर्गौला रोगीहरूका लागि तुरुन्त रगत आवश्यक पर्ने अवस्था आउने भएकाले यस्तो अभावले उपचार प्रक्रियामा ढिलाइ मात्र होइन, ज्यान नै जोखिममा पार्न सक्ने अवस्था सिर्जना हुन सक्ने चिकित्सकहरूको भनाइ छ।
रक्त सञ्चार केन्द्रले पर्याप्त रगत भण्डारण गर्न नसक्दा बिरामीका आफन्तहरू आफैँ रक्तदाता खोज्न बाध्य हुने अवस्था बढ्दै गएको छ, जसले उपचार प्रक्रियालाई झनै जटिल बनाउने गरेको छ। आकस्मिक अवस्थामा तत्काल रगत उपलब्ध नहुँदा अस्पतालहरूमा तनावपूर्ण स्थिति सिर्जना हुने गरेको अनुभव स्वास्थ्यकर्मीहरूले सुनाएका छन्।
यस्तो गम्भीर अवस्थालाई मध्यनजर गर्दै गहवा माईस्थान संचालक समितिले रगत अभाव न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। माईस्थान मन्दिर प्राङ्गनमा यही चैत्र ११ गते विहान ७ बजे देखि सञ्चालन हुने उक्त कार्यक्रममा स्थानीय बासिन्दा, युवा तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ। माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार शाहले रक्तदान जस्तो मानवीय कार्यमा सबैले जिम्मेवारी बोध गर्दै सहभागिता जनाउनुपर्ने बताउँदै, यसले थुप्रै बिरामीहरूको ज्यान जोगाउन सक्ने उल्लेख गर्नुभयो।
स्वास्थ्य सेवा प्रणालीको आधारभूत आवश्यकतामध्ये एक मानिने रगत आपूर्तिमा देखिएको यस्तो संकटले सामाजिक उत्तरदायित्वको आवश्यकता झनै उजागर गरेको छ। नियमित रूपमा रक्तदान गर्ने संस्कृतिको विकास नभएसम्म यस्ता समस्या दोहोरिने सम्भावना रहने भएकाले सम्बन्धित निकाय, सामाजिक संस्था र सर्वसाधारणबीच सहकार्य अपरिहार्य देखिएको छ। विशेषज्ञहरूका अनुसार एकजनाको सानो प्रयासले अर्को व्यक्तिको जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
















