हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ लेखपानीमा अवस्थित जीवन ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि किवानिज क्लब अफ हेटौंडाले खाद्यान्न सहयोग प्रदान गरेको छ।
शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्लबले ३९ जना विद्यार्थीको दिवा खाजाका लागि ३५ बोरा चामल विद्यालयलाई हस्तान्तरण गरेको हो। घरमा पर्याप्त खानाको अभावका कारण कतिपय बालबालिका भोकै विद्यालय आउने तथा विद्यालय नै नआउने अवस्था देखिएपछि समाजसेवी कमलचन्द्र सुमन र हिमा बिडारीको पहलमा क्लबले उक्त सहयोग गरेको जनाएको छ।
कार्यक्रममा बोल्दै किवानिज क्लब अफ हेटौंडाका अध्यक्ष रत्नदेव बज्राचार्यले हेटौंडा जस्तो उपमहानगरपालिकाभित्रै बालबालिकाले यति कठिन परिस्थिति भोग्नुपरेको देख्दा दुःख लागेको बताउनुभयो। उहाँले मानवीय संवेदनाका आधारमा आवश्यकता परे आगामी दिनमा पनि क्लबबाट सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
रत्नदेव बज्राचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक–अभिभावक संघका अध्यक्ष कालिबहादुर घलान, प्रधानाध्यापक कुमार सिंह गोले, विद्यालय व्यवस्थापन समिति सदस्य भिमलाल गोले, किवानिज क्लबका निवर्तमान अध्यक्ष गंगाप्रसाद पौडेल, सचिव सृजनराज बज्राचार्य, प्रथम महिला निजिला शाक्य, समाजसेवी कमलचन्द्र सुमन, हिमा बिडारीलगायतको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक कुमार सिंह गोलेले दाताहरूको सहयोग बढ्दै गएसँगै विद्यालयमा उल्लेखनीय सुधार देखिन थालेको जानकारी दिनुभयो। “विद्यार्थीको नियमितता बढेको छ, पढाइप्रतिको आकर्षण पनि बढ्दै गएको छ,” उहाँले भन्नुभयो।
खाद्यान्न सामग्री किवानिज क्लबका संस्थापक अध्यक्ष ज्योतिरत्न बज्राचार्य तथा हेटौंडा मोडल अस्पतालका सञ्चालक डा. बसन्तमान श्रेष्ठको सौजन्यमा उपलब्ध गराइएको हो।
किवानिज क्लब अफ हेटौंडा सन् २०२१ मा स्थापना भएको हो भने किवानिज इन्टरनेशनल सन् १९१५ मा अमेरिकामा स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो। बालबालिकाको सर्वाङ्गीण विकासलाई लक्ष्य गर्दै शिक्षा, स्वास्थ्य, नेतृत्व विकास, खेलकुद तथा वातावरणका क्षेत्रमा काम गर्दै आएको किवानिज हाल नेपालका ६५ भन्दा बढी जिल्लामा सक्रिय रहेको छ।
















