२०८३ बैशाख १६ गते, बुधबार १७:०२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भरोसाको केन्द्र बन्दै सहायता कक्ष

काठमाडौं।जिल्ला होटल व्यवसायी संघ, काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाट बाहिर निस्कने बित्तिकै दायाँपट्टि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। यस सहायता कक्षमार्फत स्वदेशी तथा विदेशी यात्रुहरूलाई निःशुल्क, भरपर्दो र निरन्तर सेवा प्रदान गरिँदै आएको संघले जनाएको छ। नेपाल भ्रमणमा आउने यात्रुहरूलाई सुरक्षित, व्यवस्थित र सकारात्मक अनुभूति दिलाउने उद्देश्यका साथ सञ्चालन गरिएको यो सेवा पछिल्ला दिनहरूमा यात्रुहरूको भरोसाको केन्द्र बन्दै गएको छ।

सहायता कक्षमार्फत विभिन्न उद्देश्यका लागि नेपाल आउने यात्रुहरूलाई काठमाडौँ जिल्लाका प्रमुख धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यहरूको बारेमा विस्तृत जानकारी प्रदान गरिन्छ। साथै, यात्रुहरूको आवश्यकता र बजेटअनुसार काठमाडौँ जिल्लाभित्रका होटलहरूमा निःशुल्क पहुँच मिलाउने व्यवस्था गरिएको छ। होटल, यातायात, पर्यटकीय स्थल, सांस्कृतिक सम्पदा तथा स्थानीय नियम–कानुनसम्बन्धी सही जानकारी उपलब्ध गराउँदै सहायता कक्षले यात्रुहरूलाई भ्रम, ठगी र अनावश्यक झन्झटबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ।

हेल्प डेस्कमा खटिएका प्रशिक्षित प्रतिनिधिहरूले पशुपतिनाथ, गंगुहेश्वरी, स्वयम्भूनाथ, बौद्धनाथ, काठमाडौँ दरबार स्क्वायर, जीवित देवी कुमारी घर, चन्द्रगिरी केवलकार, दक्षिणकाली मन्दिर, बुढानीलकण्ठ, स्काई वाक, पाटन र भक्तपुरका ऐतिहासिक क्षेत्रहरू, साँगा भञ्ज्याङस्थित एसियाकै अग्लो शिव मूर्ति, डोलेश्वर महादेव, कृष्ण मन्दिर तथा ठमेल, आसन र बसन्तपुरजस्ता सांस्कृतिक तथा पर्यटकीय केन्द्रहरूको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वबारे जानकारी प्रदान गर्दै आएका छन्। यसबाट यात्रुहरूलाई नेपालको समृद्ध सम्पदा र मौलिक पहिचानबारे प्रत्यक्ष अनुभूति गराउने प्रयास भइरहेको छ।

जिल्ला होटल व्यवसायी संघ, काठमाडौंले लामो समयदेखि होटल व्यवसायीहरूलाई संगठित गर्दै पर्यटन क्षेत्रलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन सक्रिय भूमिका खेल्दै आएको छ। संघको उद्देश्य पर्यटन उद्योगको गरिमा कायम राख्नु, यात्रुहरूलाई गुणस्तरीय सेवा प्रदान गर्नु र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकारात्मक छविलाई सुदृढ पार्नु हो। संघका अध्यक्ष सुरेश बरालका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको मुख्य प्रवेशद्वार भएकाले यहाँबाट नै यात्रुहरूले सही जानकारी र इमान्दार सेवा पाउनुपर्ने आवश्यकता छ। उनले यात्रु सहायता कक्ष यही सोचका साथ सञ्चालन गरिएको बताउँदै भविष्यमा यस सेवालाई अझ प्रभावकारी, व्यवस्थित र प्रविधिमैत्री बनाइने योजना रहेको जानकारी दिए।

यात्रुहरू सुरक्षित र सन्तुष्ट नभएसम्म पर्यटन उद्योग दिगो रूपमा अघि बढ्न नसक्ने विश्वासका साथ संघले सरकार, सुरक्षा निकाय र अन्य सरोकारवालासँग समन्वय गर्दै पर्यटन क्षेत्र सुधारमा योगदान दिँदै आएको छ। साथै, विभिन्न कारणले विदेशमा समस्या भोगी स्वदेश फर्किएका नेपालीहरूलाई आवश्यक सूचना, परामर्श र सहयोग गर्ने पहलमा समेत संघ सक्रिय रहेको जनाएको छ। यात्रु सहायता कक्षको सञ्चालन यात्रुहरूको हितमा मात्र सीमित नरही नेपालको पर्यटन छवि, विश्वसनीयता र आतिथ्य संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा सुदृढ बनाउने दिशामा एउटा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM