काठमाडौं । काठमाडौं महानगरपालिकाले आज भएको आन्दोलनलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। महानगरले सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै विद्यालय सञ्चालन गर्दा विद्यार्थीहरूको जीवनरक्षामा चुनौती उत्पन्न हुने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
महानगरका अनुसार भदौ २४ गतेदेखि २६ गतेसम्म (तीन दिन) महानगरभित्र रहेका सबै निजी तथा सामुदायिक विद्यालयहरू पूर्ण रूपमा बन्द रहनेछन्। आन्दोलनका कारण शिक्षण–अध्ययन गतिविधिमा अवरोध सिर्जना भएको भन्दै अभिभावक र विद्यालय व्यवस्थापनसँग परामर्शपछि यस्तो निर्णय गरिएको महानगरले जनाएको छ।
विद्यालय बन्द रहे पनि सम्बन्धित विद्यालयहरूले आवश्यक परेमा अनलाइन कक्षा सञ्चालन गर्न सक्ने विकल्प खुला गरिएको महानगरले स्पष्ट पारेको छ।
यसअघि काठमाडौंमा आज दिनभर विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलन गरेपछि यातायात र सुरक्षा व्यवस्थामा अवरोध भएको थियो।
















