२०८३ बैशाख १८ गते, शुक्रबार ०५:३८

सावित्रा भण्डारी ‘साम्बा’लाई भण्डारी सेवा समाजद्वारा सम्मान

काठमाडौँ, भदौ १५ । रघुवंशीय कौशिक गोत्रीय भण्डारी सेवा समाज नेपालले नेपाली महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई नगदसहित सम्मान गरेको छ।

समाजको केन्द्रीय कार्यालय लर्ड पार्टी भेन्यु, धुम्बाराहीमा आयोजित कार्यक्रममा साम्बालाई ५१ हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला ओढाइ सम्मान गरिएको हो। समाजका अध्यक्ष वीरबहादुर भण्डारीले अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलकुदलाई चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएकी साम्बालाई आफ्नै कुलको चेली भएको गर्वसहित सम्मान गरिएको बताए।

सम्मान ग्रहण गर्दै साम्बाले नेपाली महिला फुटबलको स्तरोन्नतिका लागि अझै धेरै प्रयास आवश्यक रहेको उल्लेख गरिन्। उनले विभिन्न कठिनाइ र अभावबीच यहाँसम्म आइपुग्न सकेको अनुभव सुनाउँदै नयाँ पुस्तालाई फुटबलप्रति आकर्षित गर्नुपर्ने धारणा राखिन्।

समारोहमा बागमती प्रदेशकी पूर्वमन्त्री मसिना भण्डारी, प्रमुख संरक्षक जीवनकुमार भण्डारी, वरिष्ठ उपाध्यक्ष रामकुमार भण्डारी, संस्थापक अध्यक्ष ध्रुव भण्डारी, पूर्व एआइजी बमबहादुर भण्डारीलगायतको उपस्थिति थियो।

वि.सं. २०६५ मा स्थापना भएको भण्डारी सेवा समाजले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग, प्राकृतिक प्रकोपबाट प्रभावितलाई राहत, आर्थिक अभावका कारण उपचार तथा उच्च अध्ययन गर्न नसक्नेलाई सहयोग जस्ता सामाजिक उत्तरदायित्वका गतिविधि गर्दै आएको अध्यक्ष भण्डारीले जानकारी दिए।

हालसम्म समाजले सिन्धुपाल्चोक क्षेत्र नं. २ लगायत देशका ३१ जिल्ला र १५ पालिकामा आफ्नो संगठन विस्तार गरिसकेको छ। समाजले आगामी दिनमा वंशावली संकलन, पालिका स्तरदेखि नै संगठन विस्तार र सामुदायिक हितका विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको अध्यक्ष भण्डारीले बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM