२०८२ आश्विन २६ गते, आईतवार ०१:४९

संखुवासभामा राष्ट्रपति पौडेल : “सुशासन र सेवा प्रवाहमा सरकारको ध्यान केन्द्रीत हुनुपर्छ”

संखुवासभा, १२ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो समय शासन संचालनमा देखिएका केहि कमिकमजोरी र ढिलासुस्तीलाई देखाएर व्यवस्थामाथि नै भ्रम सिर्जना गर्न केहि शक्ति लागेकोले सबै लोकतन्त्रवादी शक्तिहरु सचेत हुनुपर्ने बताउनु भएको छ ।
संखुवासभाको मादी नगरपालिकास्थति मादी माध्यमिक विद्यालयको हिरक महोत्सवमा राष्ट्रपति पौडेलले सरकारले सुशासन र सेवा प्रवाहमा मूख्य ध्यान दिनुपर्नेमा जोड दिनुभयो । जनताको भाग्य र भविष्यको फैसला आफैं गर्ने व्यवस्था नै लोकतन्त्र भएकोले यसको कुनै विकल्प नभएको भन्दै राष्ट्रपति पौडेलले राष्ट्रपति पौडेलको भनाइ थियो ।
राष्ट्रपति पौडेलले मादी विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै शिक्षालाई समयानुकूल र जीवनपयोगी बनाउँदै युवा जनशक्तिलाई विदेश पलायनबाट रोक्नु पर्ने बताउनु भयो । उहाँले संखुवासभा प्राकृतिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा देशकै नमूना जिल्ला रहेको भन्नुहुँदै विदुषि योगमाया आयुर्वेद विश्वविद्यालयलाई अगाडी बढाउनुपर्ने धारणा राख्नुभयो । किमाथाङ्का नाका, अरुण तेस्रो जलविद्युत आयोजना,  माथिल्लो अरुणलगायतका आयोजनाहरुको विकास गरेर मुलुकले समृद्धि हासिलमा थप टेवा पुग्ने पौडेलले बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएका संखुवासभाबाट निर्वाचित जनप्रतिनिधि एवं ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मादी विद्यालयले हिरक महोत्सव मनाउनु र राष्ट्रपतिजस्तो सम्मानित व्यक्तित्वको उपस्थिति हुनु जिल्लाकै गौरवको विषय भएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा संखुवासभा अब्बल जिल्लाको रुपमा स्थापित रहँदै आएको तथा स्रोत र साधनका हिसाबले पनि अत्यन्तै सबल र सम्पन्न जिल्ला भएको भन्दै शिक्षा क्षेत्रमा मादी माविले पुर्याएको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो ।
उहाँले देशमै पहिलोपटक आयुर्वेदिक विश्वविद्यालयको रुपमा योगमाया आयुर्वेदिक विश्वविद्यालयको स्थापनाले जिल्लाको पहिचान थप उचाइमा पुगेको धारणा राख्नुभयो ।
मन्त्री खड्काले ऊर्जा क्षेत्रको दृष्टिले संखुवासभामा पाँच हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सक्ने क्षमता भएकोले सबै एकजुट भएर विकास निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटकीय दृष्टिले समेत मकालु हिमाल, अरुण उपत्यका देखि थुप्रै पर्यटकीय स्थान भएकोले यसको विकासमा दलीय राजनीतिभन्दा माथि उठेर काम गर्न आग्रह गर्नुभयो । चीन र भारतजस्ता दुई छिमेकी राष्ट्रलाई जोड्ने किमाथाङ्का नाकाको विकासमा आफू लागिपरेको बताउनु भयो ।
सो अवसरमा विद्यालयमा विभिन्न कालखण्डमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM