२०८३ बैशाख २५ गते, शुक्रबार ०९:३२

मिडियामा विभेद र असमानता कायम हुँदा राज्य गैरजिम्मेवार बन्छ: पूर्व उपराष्ट्रपति झा

काठमाडौं, ३१ साउन । पूर्व उपराष्ट्रपति परमानन्द झाले मिडियामा विभेद र असमानताको विषयमा गम्भीर चिन्ता प्रकट गर्नु भएको छ। उहाँले मीडियाले नै विभेद र असमानता कायम गर्नथालेपछि राज्य गैरजिम्मेवार बन्ने संभावना बढ़ी हुने बताउनु भएको हो।

द युनिभर्सल टाईम्स साप्ताहिक पत्रिकाको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै, पूर्व उपराष्ट्रपति झाले मिडियामा समेत मधेशी समुदायमाथि विभेद भइरहेको अनुभव प्रकट गर्नुभयो । आफ्नो कार्यकालको स्मरण गर्दै उनले भने, “मधेशी समुदायका कारण मलाई पूर्व उपराष्ट्रपतिको हैसियतमा प्राप्त गर्ने सुविधा रोकियो, तर आठ वर्षपछि अन्य समुदायका लागि त्यस्तो सुविधा प्रदान गर्ने व्यवस्था गरियो।” उनले थपे, “यो विभेद केवल मधेशी समुदायको मात्र होइन, जनजाति, महिला र अन्य समुदायका लागि पनि दुखदायी रहेको छ।”

पूर्व उपराष्ट्रपति झाले गणतन्त्रको स्थापना र समानताको लागि भएका संघर्ष र बलिदानीको महत्त्व औंल्याउँदै भने, “समानताको लागि ठूलो त्याग र बलिदानी पश्चात स्थापित गणतन्त्रमा यस्ता विभेदको निराकरण गर्न मिडियाले सशक्त भूमिका खेल्नु पर्नेछ।” उनले भने, “राज्यबाट लिएका नलिएका सुविधाबारे मिडियामा प्रकाशित भएको समाचारले विश्वसनीयता गुमाउने अवस्था सिर्जना गरेको छ।”

पत्रिकाको २१ वर्षको यात्रा र योगदानको प्रशंसा गर्दै उनले भने, “२१ वर्ष पुरा गर्नु कुनै साधारण कुरा होइन, यो समय र अनुभवका हिसाबले महत्त्वपूर्ण छ।” उनले मिडियाले जनतालाई सही र साँचो सूचना दिनु पर्छ भन्ने कुरा जोड दिए, र धन कमाउने उद्देश्यले समाचार प्रस्तुत गर्नु मिडियाको उद्देश्य हुन सक्दैन भन्नु भयो।

कार्यक्रममा सांसद एकनाथ ढकालले युनिभर्सल टाईम्सलाई सकारात्मक पत्रकारिताको रोल मोडेलको रूपमा प्रस्तुत गर्दै भने, “यो पत्रिका साँचो र निष्पक्ष समाचार प्रवाह गर्नमा समर्पित छ।” यस्तै, सांसद हरि प्रसाद उप्रतीले शान्ति र सद्भावको प्रचारमा युनिभर्सल टाईम्सको योगदानको सराहना गरे। उनले थपे, “पत्रिकाले सकरात्मक सन्देश दिन र शान्तिको लागि काम गरेको छ।”

सांसद अशोक कुमार चौधरीले युनिभर्सल टाईम्सको भूमिका र जिम्मेवारीको कुरा गर्दै भने, “पत्रिकाले जनतालाई प्राथमिकतामा राखेर निष्पक्ष समाचार प्रवाह गर्दै आएको छ। सूचना र समाचारको बाढी भएको समयमा पनि युनिभर्सल टाईम्सले साँचो र प्रमाणित समाचार प्रस्तुत गरेको छ।”

सांसद रेखा यादवले पत्रकारिता र पार्टीगत आवद्धताको समस्याबारे चिन्ता प्रकट गर्दै भने, “पत्रकारलाई समाचारमा पार्टीगत प्रभाव र विचारधाराबाट पर रहनु पर्छ। यदि हामीले यसलाई हटाएनौं भने पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुँदैन।”

सांसद सेराज फारुकीले युनिभर्सल टाईम्सलाई सत्य र पारदर्शिता अंगिकार गर्दै समाचार प्रवाह गर्दै आएको कुरामा जोड दिए। सांसद तारा लामा तामाङले युनिभर्सल टाईम्सको लेखाइलाई शान्ति र समाजिक रूपान्तरणमा योगदान पुर्याउने विचार व्यक्त गरे।

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रामप्रसाद दाहालले मिडिया काउन्सिल विधेयकको अस्पष्टताबारे चिन्ता व्यक्त गर्दै सोका सुधारका लागि सरकारसँग आह्वान गरे। उनले भने, “सरकारले पञ्चायतकालको जस्तो व्यवस्था ल्याएको छ, यसलाई सुधार्नु पर्छ।”

त्यस्तै महासंघकी केन्द्रिय सदस्य मनुका कुँवरले २१ वर्षको यात्राबाट विभिन्न राजनीतिक परिवर्तनको साक्षी बनेको पत्रिकाले आगामी दिनमा आफ्नो स्लोगन जस्तै शान्ति एकता र विकासको बाटोमा लागिरहन शुभकामना दिनुभयो।

कार्यक्रममा नेपाल पत्रकार मञ्चका महासचिव राजु भण्डारीले युनिभर्सल टाईम्सको सत्य र निष्पक्ष समाचार प्रवाहको प्रशंसा गर्दै पत्रिकालाई निरन्तरता र सफलता की शुभकामना दिए।

प्रेस काउन्सिलका सदस्य सन्तराम बिडारीले पत्रकारिता क्षेत्रमा जिम्मेवारी र पारदर्शिता कायम राख्नुपर्ने कुरामा जोड दिँदै भने, “पत्रकारले आफ्नो लेखाइमा उत्तरदायित्व र जवाफदेही राख्नुपर्छ, जसले जनताको विश्वास जित्न सक्छ।”

कार्यक्रममा प्रेस काउन्सिल प्रमुख झविन्द्र भुसालले सन्तुलित र जिम्मेवार पत्रकारितालाई अंगिकार गर्दै अगाडी बढ्नु पर्ने बताउनु भयो।

पत्रिकाका सम्पादक बिष्णु निश्चलले कार्यक्रमको सन्चालन गरेका थिए।

 

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM