२०८३ बैशाख ६ गते, आईतवार १९:३७

गैरकानुनी सम्पत्ति आर्जन आरोपमा पर्यटन विभागका निर्देशक यादवविरुद्ध मुद्दा

काठमाडौं/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार, यादवले ०६६ जेठ २४ देखि ०७९ साउन २९ सम्मको कार्यकालमा जम्मा तीन करोड ६५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सम्पत्ति जोडेका छन्। यस अवधिमा उनले घरजग्गा खरिद तथा निर्माण, कर्जा तिर्ने, सेयर किन्ने, शैक्षिक खर्च बेहोर्ने, बीमा प्रिमियम भुक्तानी गर्ने र बैंक खातामा रकम जम्मा गर्ने जस्ता विभिन्न शीर्षकमा लगानी गरेका थिए।

आयोगले गरेको अनुसन्धानअनुसार, उनी र उनका परिवारको नाममा देखिएको दुई करोड ६८ लाख रुपैयाँभन्दा बढी रकम पारिश्रमिक, भत्ता, बीमा दाबी, हिमाल आरोहण पारिश्रमिक, परामर्श सेवा शुल्क, घरबहाल, बैठक भत्ता, कृषि आम्दानी, जग्गा बिक्री तथा बैंक ब्याजबाट आएको प्रमाणित भए पनि बाँकी ९६ लाख ८५ हजार रुपैयाँभन्दा बढीको स्रोत पुष्टि हुन सकेको छैन।

अभियोगपत्रमा यादवले पदीय हैसियतको दुरुपयोग गर्दै पत्नी आशाकुमारी यादवको नाममा समेत गैरकानुनी रूपमा सम्पत्ति राखेको दाबी गरिएको छ। आयोगले उक्त सम्पत्ति प्रचलित कानुनअनुसार जफत गर्न माग गर्दै बिगोबराबर जरिवाना र कैद सजायको माग पनि विशेष अदालतमा राखेको हो।

आयोगका भनाइमा, यादवले आर्जन गरेको सम्पत्तिको स्रोत प्रमाणित गर्न असफल भई अमिल्दो र अस्वाभाविक जीवनस्तर अपनाएको देखिएकाले यसलाई भ्रष्टाचारको स्पष्ट प्रमाणका रूपमा लिइएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM