काठमाडौं/निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को हालै सम्पन्न राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्ष तोक्ने निर्णय अस्वीकार गरेको छ। आयोगले राजनीतिक दलसम्बन्धी ऐन र नाउपाको विधानअनुसार सो भेला अवैधानिक भएको ठहर गर्दै निर्णय कार्यान्वयन नगर्ने निष्कर्ष निकालेको हो।
राष्ट्रिय भेलाको निर्णय अनुसार अध्यक्ष पदको जिम्मेवारी लिँदै चौधरीले आयोगमा दलको विवरण अद्यावधिक गर्न निवेदन दिएका थिए। उक्त निवेदनपछि आयोगले अध्यक्ष रन्जिता श्रेष्ठ र चौधरी दुवैलाई लिखित जवाफका लागि पत्राचार गरेको थियो।
जवाफमा दुवैले आफू नै वैध अध्यक्ष भएको दाबी गरे पनि आयोगले विधानसम्मत प्रक्रिया नपुगेको भन्दै चौधरीको दाबी अस्वीकृत गरेको हो। यससँगै रन्जिता श्रेष्ठ नै नाउपाको वैधानिक अध्यक्षका रूपमा कायम रहने आयोगले स्पष्ट पारेको छ।
















