२०८२ आश्विन २६ गते, आईतवार ०१:५१

उत्तराखण्ड पहिरोमा बेपत्ता नेपालीको खोजीमा दूतावासलाई सक्रिय हुन परराष्ट्रमन्त्री राणाको निर्देशन

काठमाडौं — भारतको उत्तराखण्ड राज्यमा हालै आएको विनाशकारी बाढीपहिरोमा हराइरहेका नेपाली नागरिकहरूको तत्काल खोज र उद्धारका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली दूतावासलाई सक्रिय रूपमा भारत सरकारसँग समन्वय गर्न निर्देशन दिएकी छिन्।

उत्तरकाशी जाने मार्गमा पर्ने धराली गाउँमा आएको प्राकृतिक विपत्तिमा परेर जाजरकोट जिल्ला, कुशे गाउँपालिकाका नागरिकहरू सम्पर्कविहीन भएका छन्। उक्त घटनालाई गम्भीरताका साथ लिएर मन्त्री राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमार्फत भारतसँग कूटनीतिक पहल गरी बेपत्ता नेपालीहरूको खोजी तथा उद्धारमा तत्परताका साथ लाग्न निर्देशन दिएकी हुन्।

‘नेपाल सरकारले आवश्यक कूटनीतिक पहल थालिसकेको छ,’ मन्त्री राणाले बताइन्, ‘हराइरहेका नेपाली नागरिकको यथाशीघ्र खोजी र उद्धारका लागि भारत सरकारसँग समन्वय गर्दै काम गर्न राजदूतावासलाई निर्देशन दिइएको छ।’

कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार वडा नम्बर २ का १३ जना र अन्य वडाका केही नागरिक बाढीपहिरोपछि सम्पर्कमा छैनन्। उनले हराइरहेका नेपाली नागरिकको खोज र उद्धारका लागि तत्काल सरकारी तहबाट कूटनीतिक प्रयास गर्न आग्रह गरेका छन्।

मंगलबार दिउँसो अचानक खसेको पहिरो र बगिरहेको लेदोले धराली गाउँमा ठूलो क्षति पु¥याएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार हालसम्म पाँच जनाको मृत्यु पुष्टि भइसकेको छ भने सयभन्दा बढी अझै बेपत्ता छन्। घटनामा भारतीय सेनाका नौ जना जवान समेत बगिएको जनाइएको छ।

उक्त बाढीपहिरोले ५० भन्दा बढी घर, ३० बढी होटल तथा रिसोर्ट, र २५ होमस्टे पूर्ण रूपमा ध्वस्त बनाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM