२०८३ बैशाख १९ गते, शनिबार ०७:२८

पूर्वराजा ज्ञानेन्द्रको ७९ औं जन्मोत्सव, निर्मलनिवासमा शुभेच्छुकहरु बाजागाजासहित पुगे

काठमाडौं, २३ असार/
पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मोत्सव आज धूमधामका साथ मनाइँदैछ। राजधानीको महाराजगञ्जस्थित निर्मल निवासमा बाजागाजासहित भव्य तयारीसहित जन्मोत्सवको उत्सव शुरु भएको छ। बिहानैदेखि शुभकामना दिन आउने शुभेच्छुकहरूको भीड देखिन थालेको छ भने समय जाँदै जाँदै सहभागिताको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ।

निर्मल निवास परिसरलाई विशेषरूपमा सजाइएको छ। परम्परागत पहिरनमा सजिएर आएका समर्थकहरू फूलमाला, खादा, ब्यानर तथा राष्ट्रिय झन्डासहित पूर्वराजालाई शुभकामना व्यक्त गर्न जुटिरहेका छन्। कार्यक्रम स्थलमा सांस्कृतिक प्रस्तुति, झाँकी र परम्परागत बाजागाजाको संयोजन गरिएको छ।

पूर्वराजा शाहले निर्मल निवासको प्रांगणमा शुभेच्छुकहरूसँग हात हल्लाएर अभिवादन गरेका छन्। उनी आज दिनभर निर्मल निवासमै शुभेच्छुकहरूसँग भेटघाटमा व्यस्त रहने बताइएको छ।

समारोहलाई व्यवस्थित बनाउन विशेष सुरक्षाको व्यवस्था गरिएको छ। कार्यक्रम स्थलमा पूर्वराजसंस्थाका समर्थक, नागरिक समाजका प्रतिनिधि र केही पूर्वराज्यमन्त्रीहरूको उपस्थिति देखिएको छ।

पूर्वराजा शाहको जन्म वि.सं. २००४ असार २३ गते भएको हो। हरेक वर्ष यस दिनमा निर्मल निवासमा शुभेच्छुकहरूको बाक्लो उपस्थितिसहित जन्मोत्सव मनाउने परम्परा रहिआएको छ। यसपटक पनि उत्सवमा सहभागीहरूको संख्या उल्लेख्य देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM