२०८३ बैशाख १८ गते, शुक्रबार २३:५३

सांसद तामाङद्वारा बाढी र पहिरोको जोखिम न्यूनिकरणमा सरकारको ध्यानाकर्षण

काठमाडौं, १५ वैशाख।

प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले कञ्चनपुर क्षेत्रमा बाढी र पहिरोको जोखिम न्यूनिकरणका लागि तत्काल कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ। आजको प्रतिनिधि सभाको शून्य समयमा वक्तव्य दिँदै सांसद तामाङले दोदा नदी, महाकाली नदी र झर्ना खोला जस्ता जलस्रोतहरूमा बर्सेनि हुने बाढीका कारण धनजनको ठूलो क्षति भइरहेको उल्लेख गर्नुभयो।

उहाँले गत वर्षको बाढीले दोदा नदी र झर्ना खोलामा गरेको कटान अझै नियन्त्रणमा नआएको बताउँदै यस वर्ष पनि ठूला क्षतिको जोखिम उच्च रहेको चिन्ता व्यक्त गर्नुभयो। “संवेदनशील स्थानहरूमा तत्काल तटबन्ध निर्माण कार्य सुरु गर्न र दीर्घकालीन समाधानका लागि बृहत् गुरुयोजना तयार पार्न जरुरी छ,” सांसद तामाङले जोड दिनुभयो।

सांसद तामाङले दोदा नदी र चौधर नदीमा बहुउद्देशीय तटबन्ध निर्माण गरी मानव र प्राणीमैत्री वातावरण सिर्जना गर्न आग्रह गर्दै, चुरे क्षेत्रदेखि भारतसम्म फैलिएका नदीहरूको व्यवस्थापन र समुचित तटबन्ध निर्माणका लागि सरकारलाई थप सक्रिय र जिम्मेवार बन्न विशेष आग्रह गर्नुभयो।

उहाँले बाढीजन्य समस्याको दीर्घकालीन समाधान बिना स्थानीय बासिन्दाको सुरक्षामा जोखिम थपिने चेतावनी दिनुभएको थियो।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM