२०८३ बैशाख २० गते, आईतवार ०७:४७

ढल्केबर सबस्टेसनमा आगलागी : समस्या समाधानका लागि कार्यकारी निर्देशकसहितको टोलीको स्थलगत निरीक्षण

काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा बुधबार बिहान भएको आगलागी र त्यसबाट उत्पन्न विद्युत् आपूर्तिको अवरोधको कारण पत्ता लगाउन प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा उच्चस्तरीय टोली बिहीबार सबस्टेसन पुगेको छ।

प्राविधिक समस्या, सो क्षेत्रको लोड अवस्था तथा दीर्घकालीन समाधानका उपायबारे अध्ययन गर्न पुगेको टोलीले घटनास्थलको स्थलगत निरीक्षण गरेको हो। ढल्केबर सबस्टेसन देशकै सबैभन्दा ठूलो विद्युत् सबस्टेसन हो, जहाँ ४०० केभीदेखि ११ केभीसम्मका विभिन्न स्तरका संरचना रहेका छन्।

बुधबार १३२/३३/११ केभी खण्डमा समस्या देखिए पनि सबस्टेसनको बाँकी संरचनामा कुनै असर नपरेको ढल्केबर ग्रिड महाशाखा प्रमुख विनोद लोहनीले जानकारी दिनुभयो। करेन्ट ट्रान्सफर्मर (CT) पड्किएपछि बिहान करिब ७:३० बजेदेखि धनुषा, महोत्तरी र सिन्धुली जिल्लाका विभिन्न क्षेत्रहरूमा विद्युत् आपूर्तिमा समस्या आएको थियो। यद्यपि, वैकल्पिक व्यवस्थामार्फत अधिकांश क्षेत्रमा हिजै विद्युत् आपूर्ति सुचारु गरिएको प्राधिकरणले जनाएको छ।

निरीक्षणका क्रममा कार्यकारी निर्देशक शाक्यले भविष्यमा यस्ता प्राविधिक समस्या नदोहोरियोस् भनेर उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिनुभयो। साथै, अति संवेदनशील सबस्टेसनहरूमा ब्याकअप सप्लाईको व्यवस्था गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

“अवरुद्ध विद्युत् आपूर्तिलाई तुरुन्तै सुचारु गर्दै उपभोक्तालाई प्रभावकारी सूचना दिनुपर्छ,” कार्यकारी निर्देशक शाक्यले भन्नुभयो। साथै, मधेश प्रदेश प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियत यादवलाई भरपर्दो र गुणस्तरीय आपूर्तिका लागि सशक्त सन्देश प्रवाह गर्न निर्देशन दिइएको छ।

उल्लेखनीय छ, यसअघि २०८१ साल भदौ १८ गते पनि सबस्टेसनमा जडित ६३ एमभिए क्षमताका दुई पावर ट्रान्सफर्मरमध्ये एकमा समस्या आएको थियो। सो समयमा ३० एमभिए लोड कटौती गर्नुपरेको थियो भने भारतको सुरसण्डमार्फत ३३ केभी लाइनबाट विद्युत् आयात गरेर आपूर्ति नियमित गरिएको थियो।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत सञ्चालनमा रहेको ४०० केभी सबस्टेसन नेपाल–भारत विद्युत् आयात–निर्यातको एकमात्र संरचना हो। सन् २०२१ को फेब्रुअरी १ (वि.सं. २०७७ माघ १९) मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिएको यस संरचनाले नेपालको ऊर्जा व्यापारमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM