२०८३ बैशाख २० गते, आईतवार १०:२७

महासचिव राईद्वारा लण्डनमा नेपाली शिक्षकको आन्दोलनबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण

काठमाडौं, २९ चैत। लण्डनमा जारी इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन (आईटीएफ) को विश्व कार्यसमितिको बैठकमा नेपाली शिक्षक आन्दोलनको आवाज गुञ्जिएको छ। नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव तथा आईटीएफ विश्व कार्यसमितिका सदस्य अजयकुमार राईले नेपाली शिक्षकले भोगिरहेका समस्याबारे अन्तर्राष्ट्रिय मञ्चमा गम्भीररुपमा कुरा उठाएका हुन्।

महासचिव राईले शिक्षकहरूको जायज मागप्रति राज्यको उदासीनता तथा श्रमिकप्रति राजनैतिक नेतृत्वको उपेक्षात्मक दृष्टिकोणप्रति चिन्ता व्यक्त गरे। उनले हालै सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लागू नहुने निर्णय सुनाएको प्रसंग उल्लेख गर्दै उक्त फैसलाले सार्वजनिक क्षेत्रका श्रमिक आन्दोलनलाई झनै जटिल बनाएको तर्क राखे।

बैठकमा उनले विद्यालय शिक्षा ऐन लगायतका विषयमा सरकारसँग भएका अघिल्ला सम्झौता कार्यान्वयन नभएको कारण हजारौं शिक्षक आन्दोलनमा उत्रनु परेको उल्लेख गरे। उनले एजुकेशन इन्टरनेशनल, ट्रेड युनियन कांग्रेसलगायतका संस्था र युनियनहरूले ऐक्यबद्धता जनाइसकेको अवस्थामा समेत सरकारले अपेक्षित गम्भीरता नदेखाएकोप्रति असन्तुष्टि जनाए।

राईले कार्यसमितिमा आवश्यक सहयोग र समर्थनको अपिल समेत गरेका थिए। सोही सन्दर्भमा फेडेरेशनका अध्यक्ष पेड्डी क्रुमलिनले नेपाली श्रमिक र शिक्षकहरूको पक्षमा आईटीएफको सद्भाव र सहयोग रहने प्रतिबद्धता जनाउँदै महासचिव राईलाई धन्यवाद ज्ञापन गरे।

उल्लेखनीय छ, विश्वभर दुई करोडभन्दा बढी सदस्य रहेको आईटीएफको मुख्यालय लण्डनमा छ भने यसका विश्व कार्यसमितिमा सबै महादेशबाट करिब ६० जना ट्रेड युनियन प्रतिनिधिहरू सहभागी छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM