काठमाडौँ/गैरसरकारी संस्था महासङ्घ नेपालको ११औं महाधिवेशनले अर्जुन कुमार भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रिय कार्य समितिको सर्वसम्मतिले निर्वाचन गरेको छ।
वरिष्ठ उपाध्यक्षमा नानी माया थापा र अन्य दुइ उपाध्यक्षमा राजेन्द्र शर्मा तथा संजय लम्साल निर्वाचित हुनुभएको छ। यसैगरी महासचिवमा देबी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा, साथै कोषाध्यक्षमा गोविन्द वहादुर शाही निर्वाचित हुनुभएको छ।
केन्द्रिय कार्यसमितिमा ५१ जनाको रहने व्यवस्था छ। अन्य ३ जना सदस्य कार्यसमितिले मनोनित गर्नेछ। निर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ।
गैरसरकारी संस्था महासङ्घ नेपालका सदस्य संस्थाहरूको प्रतिनिधित्व गर्दै ९ सय २३ जना गैसस प्रतिनिधिहरूको सहभागितामा राष्ट्रिय नागरिक सम्मेलन, ३०औं वार्षिक साधारण सभा, र ११ औं महाधिवेशन यही फागुन २५ देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो ।
नागरिक राष्ट्रिय नागरिक सम्मेलनको समुद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । यस अवसरमा विभिन्न विषयगत सत्र र कार्यशालाहरूको पनि आयोजना गरिएको थियो ।
जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र उत्थानशीलता विषयमा राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । अति कम विकसित राष्ट्रबाट नेपालको स्तरोन्नति पश्चातको प्रभाव र दिगो विकास लक्ष्यका लागि स्रोत व्यवस्थापन विषयमा साथै हालको सन्दर्भमा सामाजिक सङ्घ संस्थाहरूको दिगोपना र उत्थानशीलताका चुनौती र कार्यदिशाबारे पनि छलफल गरिएको छ ।
प्रधानमन्त्री र प्रमुख दलका नेताहरूको उपस्थितिमा सामाजिक सङ्घ संस्थाहरूले सामना गरेका नीतिगत र कार्यगत चुनौती, सामाजिक सङ्घ संस्थाहरू र सामाजिक अभियानको दिगोपना र त्यसका लागि आवश्यक पर्ने नीति र कार्य वातावरणको लागि अनुरोध गरिएको छ । विभिन्न विषयगत कार्यशाला र राष्ट्रिय नागरिक सम्मेलनको निष्कर्षका रूपमा काठमाडौं घोषणापत्र जारी गर्ने तयारी भएको कुरा महासङ्घका उपमहासचिव किरण थापाले बताउनुभयो ।