Friday, March 7, 2025
घरसमाचार ‘डंकी रुट’ बाट अमेरिका पठाउने गिरोहका नाइके एक वर्षदेखि कारागारमा, चौथो मुद्दा...

 ‘डंकी रुट’ बाट अमेरिका पठाउने गिरोहका नाइके एक वर्षदेखि कारागारमा, चौथो मुद्दा दर्ता

२२ फागुन, काठमाडौं । अवैध रूपमा अमेरिका पुगेर बसोबास गर्दै आएका ८ जना नेपाली नागरिकलाई चार्टर्ड विमानमार्फत बुधबार काठमाडौं फिर्ता गरियो । हत्कडी र खुट्टामा चेन लगाएर नेपाल फिर्ता गरिएका नेपालीलाई अध्यागमनको जिम्मा लगाइएको थियो ।

अध्यागमनले उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा लगायो । ब्यूरोले सामान्य सोधपुछ गरी आफन्तको जिम्मा लगाएर छाड्यो । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा चुनिएपछि हालसम्म ३५ नेपाली नागरिकलाई यसैगरी स्वेदश फिर्ता गरिएको अध्यागमनको तथ्यांक छ ।

अवैध बाटोबाट अमेरिका पुगेका नेपालीहरू धमाधम हत्कडी लगाएर स्वदेश फिर्ता भइरहँदा ‘डंकी रुट’ बाट अमेरिका पठाउने गिरोहका एक जना नाइकेविरुद्ध भने भर्खरै अदालतमा मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्दा दायर भएको छ ।

८ नेपाली अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आएकै दिन २१ फागुनमा अमेरिका पठाउने मानव तस्करका मुख्य नाइके हस्त गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्वी रुकुमको सिस्ने गाउँपालिका–३ मा जन्मिएका ५३ वर्षीय गौतम नेपाली मुलका अमेरिकी नागरिक हुन् ।

उनै गौतमसहित सात जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोविन्द हुमागाईंले गौतमसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेका हुन् ।

ह्विल चियरको साहारमा हिँडडुल गर्ने अपांगता भएका गौतम विगत एक वर्षदेखि केन्द्रीय कारागार सुन्धारामै बन्दी जीवन बिताइरहेका छन् । ब्यूरोका प्रमुख एसएसपी जीवन श्रेष्ठ (हाल अवकाश) भएको बेला पक्राउ परेका गौतम यसअघि नै तीन वटा मानव बेचबिखनको कसुरमा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।

अहिले उनै गौतमविरुद्ध चौथो मुद्दा दायर भएको छ । परिवर्तित नाम २६ बबरमहल (२१४) को जाहेरीले गौतमविरुद्ध मुद्दा दायर भएको छ । २६ बबरमहलका श्रीमान् करिब ११ वर्षअघि जापान गएर सम्पर्कविहीन भएका थिए । त्यसपछि २६ बबरमहल पनि विदेश जाने चक्करमा थिइन् । ज्ञानेन्द्र गौतमको सम्पर्कमा पुगेकी उनलाई ज्ञानेन्द्रले आफ्ना काका भन्दै हस्त गौतमसँग भेट गराएका थिए । डकुमेन्टेसनका लागि भन्दै सुरुमा ५ लाख र पासपोर्ट गौतमलाई बुझाइयो ।

तल्लो बाटो (डंकी रुट)बाट अमेरिका पठाउने सुरुवातकर्ता नै गौतम हुन् । उनले प्रहरीसमक्ष उक्त कुरा स्वीकार समेत गरेका थिए ।

पटकपटक गरेर २६ बबरमहलले ६० लाख ४० हजार गौतमलाई बुझाइन् । १३ जेठ २०७९ मा अमेरिका पठाउने भन्दै २६ बबरमहललाई थाइल्यान्ड पुर्‍याइयो । २६ बबरमहलसँगै ज्ञानेन्द्र गौतम पनि थाइल्यान्ड गए । थाइल्यान्ड पुगेपछि फेरि पैसा हाल्नु भनेकाले उनले ८ लाख ४० हजार लागेको बताएकी छिन् ।

थाइल्यान्डबाट मेक्सिको पुर्‍याउने र त्यहाँबाट अमेरिका छिराउने बताइएको थियो । थाइल्यान्डबाट मेक्सिको हुँदै फिलिपिन्स पुर्‍याइयो । फिलिपन्स अध्यागमनमै शंका लागेको भन्दै प्रहरीले तीन हप्तासम्म हिरासतमा राख्यो । त्यसपछि २६ बबरमहल नेपाल फर्केर हस्त गौतमविरुद्ध ब्यूरोमा जाहेरी दिएकी थिइन् । उनै गौतमविरुद्ध अहिले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

‘सय बढी व्यक्तिलाई डंकी रुटबाट अमेरिका’

ब्यूरो स्रोतका अनुसार तल्लो बाटो (डंकी रुट) बाट अमेरिका पठाउने सुरुवात गर्ने व्यक्ति नै गौतम हुन् । उनले प्रहरीसमक्ष उक्त कुरा स्वीकार समेत गरेका थिए । ‘डंकी रुट नै मैले सुरु गरेको हो । कसैलाई बेचेको होइन । जान चाहनेलाई त्यहाँसम्म पुग्न लाग्ने खर्च लिएर पठाइदिएको हुँ । उनीहरूको उद्धार नै गरेको हुँ,’ गौतमको भनाइलाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने । गौतमको प्रत्यक्ष निर्देशन र योजनामा सय बढी व्यक्ति डंकी रुटबाट अमेरिका पुगेको ब्यूरो स्रोत बताउँछ । उनले विशेषगरी रुकुम, रोल्पा, दाङका मनिसबाट करोड हाराहारीको रकम बुझेर डंकी रुट हुँदै अमेरिका पुर्‍याएको ब्यूरोका अधिकारीहरूले बताएका थिए ।

उनी सन् २००५ देखि नै लाखौं रकम असुलेर अवैध बाटोबाट अमेरिका पठाउने गिरोहका मुख्य नाइके हुन् । गौतम कुनै समय पारा ओलम्पिक कमिटीका महासचिव थिए । सन् १९९४ मा नेपाल पारा ओलम्पिक कमिटीमा महासचिव रहेका बेला उनी अमेरिका गएका थिए । अमेरिकाबाट फर्केको ९ वर्षपछि सन् २००५ मा उनी सिंगापुर पुगेका थिए ।

सिंगापुरबाट ल्याटिन अमेरिकन देशहरू हुँदै मेस्कीकोबाट उनी अमेरिका छिरेको ब्यूरोका अधिकारीहरू बताउँछन् । अमेरिका छिरेपछि शरणार्थी आवेदन दिएर उनी अमेरिकन नागरिक समेत बनेका थिए । उनको अमेरिकन पासपोर्ट नम्बर ५३०६४७१६६ हो ।

डंकी रुटबाट अमेरिका पठाउने उनै गौतमले पछिल्लो समय भने अमेरिका पठाउने भन्दै विभिन्न मुलुक लगेर अलपत्र पारेर छाडेपछि उनीविरुद्ध प्रहरीमा उजुरी आउन थालेको थियो ।

अमेरिकी नागरिक भएपछि उनले माओवादी द्धन्द्धको मुख्य प्रभाव रहेका रुकुम, रोल्पा र दाङका नागरिकलाई उनले डंकी रुटबाट अमेरिका छिराउने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोका तत्कालीन एसएसपी श्रेष्ठ बताउँछन् । ‘डंकी रुटबाट अमेरिका पठाउने गिरोहमाथि अनुसन्धान गर्दा उनी (हस्त गौतम) मुख्य व्यक्ति रहेको खुलेको थियो । लामो मिहिनेतपछि पक्राउ गर्न हामी सफल भएका थियौं,’ पूर्वएसएसपी श्रेष्ठले अनलाइनखबरसँग भने ।

गौतमले पठाएका मान्छे अलपत्र भएर फर्केर आउँदा समेत उजुरी दिन नमानेको उनी बताउँछन् । फेरि अर्को रुटबाट अमेरिका पठाउने प्रलोभन देखाउने गरेकाले पीडितहरूले उजुरी नै दिन नमाउनको उनी स्मरण गर्छन् । लामो काउन्सिलपछि बल्ल पीडितले जाहेरी दिएपछि उनीमाथि अनुसन्धान गरेर ब्यूरोले पक्राउ गरेको थियो ।

मानव तस्करी आरोपमा केन्द्रीय कारागार सुन्धारामा रहेका हस्त गौतम ।

तीन वटा मुद्दामा पुर्पक्ष

डंकी रुटबाट अमेरिका पठाउने उनै गौतमले पछिल्लो समय भने अमेरिका पठाउने भन्दै विभिन्न मुलुक लगेर अलपत्र पारेर छाडेपछि उनीविरुद्ध प्रहरीमा उजुरी आउन थालेको थियो । अमेरिका लैजाने भन्दै भारत थाइल्यान्ड, दुबई, जाम्बिया, सिंगापुर, हङकङ, फिलिपिन्स जस्ता मुलुकमा पुर्‍याएर अलपत्र पारेपछि उनीविरुद्ध पीडितले ब्यूरोमा उजुरी दिएका थिए ।

अमेरिकाबाट दिल्ली हुँदै स्थलमार्गबाट नेपाल आउन लागेका बेला उनी बेलहिया नाकाबाट २० भदौ २०८० मा पक्राउ परेका तत्कालीन एसएसपी श्रेष्ठले बताएका थिए । उनै गौतम अहिले तीन वटा मुद्दामा पुर्पक्षमा कारागारमा छन् ।

गौतमसहितका व्यक्तिविरुद्ध मानव बेचबिखन तथा ओसार पसार ३, ठगी र संगठित अपराधका ३/३ गरी ९ वटा कसुरमा ३ वटा मुद्दा दर्ता भएका थिए । ती सबै मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खड्काको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । अहिले उनी केन्द्रीय कारागारमै छन् ।

डंकी रुटबाट अमेरिका गएकाहरू फर्कन थालेपछि ब्यूरोको टोलीले उनीमाथि समेत सोधपुछ गर्ने तयारी गरेको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -