२०८३ जेष्ठ २८ गते, बिहीबार १२:५१

प्रमाण दिनुस् : राजनीति त के सार्वजनिक जीवन नै त्याग गर्छु : अर्थमन्त्री वाग्ले

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आफूमाथि लाग्दै आएको विद्युतीय गाडी खरिद प्रक्रियासम्बन्धी सूचना चुहावटको आरोपप्रति कडा प्रतिक्रिया जनाउँदै आरोप पुष्टि गर्न चुनौती दिएका छन्।

उनले आरोप प्रमाणित भएमा राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्याग्ने घोषणा गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले आफूलाई नियोजित रूपमा बदनाम गर्ने प्रयास भइरहेको भन्दै गम्भीर आपत्ति जनाए। उनले आफ्नो छवि धुमिल पार्ने गरी फैलाइएका आरोपहरू आधारहीन भएको दाबी गरे।

उनले भावुक हुँदै भने, “दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, म राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु।” साथै, उनले नैतिकताको उच्च मापदण्डमा आफू उभिएको भन्दै यस्ता आरोपहरू सह्य नहुने स्पष्ट पारे।

वाग्लेले संसदमा उपस्थित सांसदहरूसमक्ष प्रश्न उठाउँदै नैतिकताको सवालमा आफ्नो अडान अन्य राजनीतिक व्यक्तिहरूमा पनि देखिनुपर्ने टिप्पणी गरेका थिए।

उनको उक्त अभिव्यक्तिपछि संसदमा केहीबेर भावनात्मक वातावरण बनेको थियो भने विषयले राजनीतिक वृत्तमा थप चर्चा पाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM