२०८३ जेष्ठ २८ गते, बिहीबार २०:५९

गोल्छा, भट्ट र अग्रवालसहितविरुद्ध विभिन्न अदालतमा भ्रष्टाचार र बैंकिङ कसुरको मुद्दा दायर

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को लामो अनुसन्धानपछि प्रतिष्ठित व्यापारी र व्यवसायीहरूविरुद्ध विभिन्न अदालतमा ठगी, भ्रष्टाचार र बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरिएको छ।

दिपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा लगायतका व्यक्तिहरूलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टाछुट्टै अभियोगपत्र दर्ता भएका हुन्।

बीमा ऐन, २०७९ को बर्खिलाप गर्दै आर्थिक हिनामिना गरेको अभियोगमा व्यवसायी शेखर गोल्छा, दिपक भट्ट र सुलभ अग्रवालसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। यस प्रकरणमा नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षहरू शरद ओझा र मदन दाहालसमेत तानिएका छन्।

जिल्ला अदालत काठमाडौंमा दायर गरिएको उक्त मुद्दामा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका गोल्छासहित १० जनाविरुद्ध २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ, भृकुटी ब्रोकिङ कम्पनीका सन्दिप चाचान अग्रवाल, सुधा कर्ण, राजिब ठाकुर र सुलभ अग्रवालविरुद्ध ३ अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठसहित ९ जनाविरुद्ध १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ बिगो मागदाबी गरिएको छ। सोही प्रकरणमा दिपक भट्टविरुद्ध मात्र २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ बिगो कायम गरिएको छ।

यसैगरी, जिल्ला अदालत काठमाडौंमा नै धितोपत्रसम्बन्धी ऐन, २०६३ को कसुरमा ८१ जनालाई प्रतिवादी बनाएर अर्को मुद्दा दर्ता गरिएको छ। उच्च अदालत पाटनमा भने दिपक भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ। उक्त मुद्दामा ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गरिएको छ। यी सबै प्रक्रियाका अतिरिक्त सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्ट र अग्रवालविरुद्ध विशेष अदालतमा छुट्टै मुद्दा दायर गरेको छ।

लामो समयदेखि अनुसन्धानको घेरामा रहेका व्यवसायीहरूविरुद्ध एकैसाथ यति ठूलो मात्रामा मुद्दा दायर हुनुलाई व्यावसायिक र बैंकिङ क्षेत्रमा निकै चासोका साथ हेरिएको छ। अदालतमा अभियोगपत्र दर्ता भएसँगै अब यी प्रकरणहरूको कानुनी किनारा लाग्ने प्रक्रिया सुरु भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM