२०८३ जेष्ठ २७ गते, बुधबार २२:२६

बीमा रकम दाबी गर्न सुनचाँदी पसलमै ‘चोरीको नाटक’, सञ्चालक र कर्मचारी पक्राउ

बुटवल। बीमा रकम असुल्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा चोरी भएको झुटो घटना सिर्जना गरेको आरोपमा बुटवलका एक व्यवसायी र उनका कर्मचारी पक्राउ परेका छन्।

बुटवल उपमहानगरपालिका-५ अमरपथस्थित तिनाउ सुनचाँदी पसलका सञ्चालक दीपक बिक र कर्मचारी नवीन बिकलाई योजनाबद्ध रूपमा चोरीको नाटक रचेको आरोपमा प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार जेठ १७ गते सञ्चालक दीपक बिकले आफ्नो पसलबाट एक करोड ४६ लाख रुपैयाँभन्दा बढी मूल्यका सुनचाँदीका गहना चोरी भएको भन्दै उजुरी दिएका थिए। उनले घटना भएको समयमा आफू पोखरामा रहेको र पसलको सिसिटिभी प्रणालीसमेत बिग्रिएको जानकारी प्रहरीलाई दिएका थिए।

 

तर घटनापछि गरिएको अनुसन्धानमा प्रहरीलाई उजुरीमा उल्लेख गरिएका विवरणमाथि शंका उत्पन्न भएको थियो। थप अनुसन्धानका क्रममा वास्तविक चोरी नभई बीमा दाबी गर्ने उद्देश्यले सुनियोजित रूपमा चोरी भएको देखाउने प्रयास गरिएको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

 

अनुसन्धानबाट पसलमा रहेको सुनचाँदी तथा नगद कारोबारको हिसाब-किताब व्यवस्थापन गर्न र बीमा रकम प्राप्त गर्ने उद्देश्यले घटनाको योजना बनाइएको निष्कर्षमा प्रहरी पुगेको छ।

घटनालाई वास्तविक चोरीजस्तो देखाउन रातिको समयमा च्यानल गेटको ताला खोलिएको तथा लकरमा विभिन्न चाबी प्रयोग गरेर जबर्जस्ती खोल्न खोजिएको जस्तो दृश्यसमेत तयार गरिएको अनुसन्धानबाट खुलेको छ।

करिब ४० वर्षदेखि सञ्चालनमा रहेको उक्त पसलमा भएको भनिएको चोरी अन्ततः योजनाबद्ध रूपमा तयार पारिएको घटना भएको प्रहरीको दाबी छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, प्रदेश अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले दुवै जनाविरुद्ध आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM