१८ फागुन, विराटनगर । शनिबारबाट सुरु नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोलेका नेताहरुले नयाँ नेतृत्वका लागि गुटबन्दी नगर्न निर्देशन दिए । गुटबन्दीले पार्टीलाई कमजोर बनाउने भएकाले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने तर्क उनीहरुको थियो । प्रमुख अतिथिसमेत रहेका उपाध्यक्ष रामबहादुर थापा बादलले अध्यक्षको सन्देश भन्दै कसैलाई गुटबन्दी गर्ने छुट नभएको बताए ।
जिल्ला अधिवेशन उद्घाटनका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आउने तयारी थियो । तर ओलीले अन्तिम समयमा बादललाई विराटनगर पठाएका थिए । ‘अध्यक्षको सन्देश लिएर यहाँ आएको छु’, उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले भने, ‘प्यानलको रुपमा उम्मेदवार खडा गरे गुटबन्दी गर्ने छुट कसैलाई छैन ।’
प्यानल खडा गर्दा गुटबन्दी हुने उल्लेख गर्दै उनले सहमतिका नेतृत्व चयन गर्न आग्रह गरे । उनीभन्दा अघि बोलेका एमाले उपाध्यक्ष गुरु बराल, उपमहासचिव प्रदीप ज्ञवाली, कोशी प्रदेश इञ्चार्ज शेरधन राईलगायत नेताले बादलकै शैलीमा सहमतिमा अघि बढ्नुपर्ने बताए ।
संस्थापन र इतर पक्षको प्यानल
पार्टी नेताले गुटबन्दी नगर्न निर्देशन दिइरहँदा जिल्लामा संस्थापन पक्षका राजकुमार ओझा र इतर पक्षका अजम्बर राई नेतृत्वमा नेता–कार्यकर्ताहरु विभक्त देखिएका छन् । संस्थापन पक्षमा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु छन् भने इतर पक्षको नेतृत्व विनोद ढकालले गरेका छन् ।
एमाले पूर्वकेन्द्रीय सदस्य ढकाल पार्टी राजनीतिमा मोरङमा प्रभाव जमाएका नेता हुन् । जिल्ला अधिवेशनका लागि छनोट भएका ९१४ प्रतिनिधि मध्ये ६० प्रतिशत उनको पक्षमा रहेको उनी निकट नेताहरु दाबी गर्दछन् । अर्काे पक्षले भने ढकाल पक्षसँग ४० प्रतिशत मात्रै प्रतिनिधि भएको दाबी गर्छ ।
अध्यक्ष ओलीबाट पेलिएका ढकाल २०८० असोजमा भएको पहिलो कोशी प्रदेश अधिवेशनमा प्रदेश अध्यक्षको उम्मेदवार थिए । ओलीसहित पार्टीका अधिकांश नेताको समर्थन घनश्याम खतिवडालाई थियो । शीर्ष नेताको समर्थन बिना प्रतिस्पर्धा गरेका ढकालले ४३० मत प्राप्त गरे भने खतिवडा ५१२ मतसहित विजयी भएका थिए । त्यसपछि जिल्ला अधिवेशनमा प्रदेशको जस्तै प्यानल तयार भएको हो ।
मतदाता फकाउने प्रयास
संस्थापन पक्षले राजकुमार ओझालाई जिल्ला अध्यक्षमा अघि सार्ने तयारी गरेको छ । कोशी प्रदेशका पूर्व सांसद ओझाले आफू संस्थापन पक्षको उम्मेदवार भन्दै भोट मागिरहेका छन् ।
विनोद ढकालको समूहले अजम्बर राईलाई अध्यक्षमा अघि सार्ने तयारी गरेको छ । राई जिल्ला समन्वय समिति प्रमुख हुन् ।
उपाध्यक्षमा संस्थापन पक्षले शान्ति भुजेललाई र ढकाल पक्षले सागर थापालाई अघि सार्ने तयारी गरेका छन् । थापाले आफूलाई भोट माग्दै आएका छन् ।
सचिवमा ढकालको समूहले सोमराज थापालाई अघि सार्ने तयारी गरेको छ । संस्थापन पक्षले भने रविन थापालाई अघि सार्ने तयारी गरेको छ । उनले पनि सचिवमा भोट मागिरहेका छन् ।
ढकालको समूहबाट उपसचिवमा उषा झा र सन्तोष बान्तवालाई अघि सार्ने तयारी छ । संस्थापन पक्षले उपसचिवको नाम भने टुङ्गो लगाएको छैन ।
३ दिनसम्म चल्ने अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् । मोरङका १७ वटा स्थानीय तहका १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय १४ जना प्रतिनिधि मतदाता छन् ।