१७ फागुन, काठमाडौं । जापान जानुअघि कल्पना भट्टचनलाई आफ्नै देशमा सीप सिक्छु र उद्यम गर्छु भन्ने सोच थिएन । झन्डै ४ वर्षको जापान बसाइमा उनले जे ज्ञान प्राप्त गरिन्, त्यसलाई नेपाल आएर लागू गरिन् अनि इन्टेरियरका क्षेत्रमा आफूलाई अब्बल रूपमा उभ्याइन् ।
दुई दशकदेखि इन्टेरियरको काम गरिरहेकी कल्पना डिजाइन आफैं कोर्छिन् । आफूले नभ्याउने अवस्थामा काम सिकेका साथी तथा कामदार बोलाएर सहयोग माग्छिन् । यति मात्रै होइन, उनी काठका काम सिकाएर महिलालाई आत्मनिर्भर बनाउन समेत लागिपरेकी छिन् ।
पुर्ख्यौली थातथलो मुस्ताङ भएपनि कल्पनाको जन्म म्याग्दीमा भयो । सम्पन्न परिवार भएकाले पढाइ–लेखाइबाट वञ्चित हुनुपरेन । ६ कक्षासम्मको शिक्षा मुस्ताङमा लिएर म्याग्दी झरेकी कल्पनाले स्थानीय बाबियाचौर स्कुलबाट एसएलसी गरिन् ।
बाल्यकाल सहज भएपनि परिवारमा हुने छोरा र छोरीबीचको विभेद भने उनको मनमा बिझेको थियो । उनी भन्छिन्, ‘हामीले पढ्न वा हुर्कनका लागि दुःख र संघर्ष गर्नुपरेन । तर छोरा र छोरीबीचको विभेदले भने मलाई त्यतिबेलै छोएको थियो ।’
कल्पनालाई म्याग्दीको सरकारी स्कुलमा पढाउँदा भाइहरूलाई काठमाडौंको बोर्डिङ स्कुलमा पढ्न पठाइयो । यसले उनको मनमा पारेको छोरा र छोरीबीचको विभेदको संकेत अहिले पनि रहन्छ । सोही कारण खासगरी जनजाति महिला सशक्तीकरणमा लाग्ने प्रेरणा पाइन् ।
कल्पना अहिले जनजाति महिला महासंघको उपाध्यक्ष (हिमाल) छिन् । ‘मैले अभाव बेहोर्नुपरेन, तर विभेद बेहोरें,’ उनी भन्छिन्, ‘विभेद हटाउने हो भने महिला शिक्षित र सक्षम हुनुपर्छ, म त्यही अभियानमा खटिएकी छु ।’
म्याग्दीमा विद्यालय शिक्षा पूरा गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं आइन् । र, पद्मकन्या क्याम्पस (पीके)मा भर्ना भइन् । केटीहरूका लागि त्यसबेलाको निर्विकल्प क्याम्पस थियो पिके । ‘धनी गरिब सबैको रोजाइमा थियो, शिक्षामा पनि गुणस्तर थियो,’ उनी भन्छिन् ।
परिवार शिक्षित भएका कारणलाई उनलाई पढाइमा कुनै रोकतोक भएन । कल्पनाका ठूलोबुबा मुस्ताङबाट पहिलो डिग्री गर्ने व्यक्ति हुन् । मुस्ताङमा पहिलो पटक स्याउ भित्र्याएका कारण उनलाई ‘स्याउ बाजे’ का नामले समेत चिनिन्छ ।
नेपालमा थकाली खाना प्रख्यात छ । तर, यसको दस्तावेजीकरण नहुँदा थकालीका नाममा विकृति बढेको निष्कर्षमा यो समुदाय पुगेको थियो । खानामा गुणस्तर मेन्टेन नहुने चिन्ता महासंघमा हुने गरेको थियो । महासंघमा थकालीको मात्र नभई जनजाति समूदायकै खाना संरक्षण गर्नुपर्छ भनेर आफूले आवाज उठाएको कल्पना भट्टचनको भनाइ छ
म्याग्दीमा ठूलो धानखेतको रेखदेख गर्थे बुबाले । उनकै प्रत्यक्ष रेखदेखमा हुर्किन् कल्पना । कल्पनाका बुबा सामाजिक काममा समेत सक्रिय थिए । म्याग्दीमा क्लबदर्ता गरेर सामाजिक काम थालेका थिए । क्लबको नाम थियो, मालिका युवा क्लब । बुबाले खोलेको त्यसै क्लबबाट आफूले सामाजिक गतिविधिमा रमाउन सिकेको कल्पना बताउँछिन् । उनी युवा अवस्थामा भलिबल पनि खेल्थिन् ।
कल्पनाले पद्मकन्या क्याम्पसबाट स्नातक उत्तीर्ण गरिन् । उनको विषय होम साइन्स थियो । १९९३ सालताकाको कुरा हो, त्यस विषयमा हरेक वर्ष एउटा कोटा जापानमा उच्च शिक्षा पढ्नका लागि राखिएको थियो । त्यसमा उनले निवेदन दिएकी थिइन् । तर नाम वेटिङ लिस्टमा निस्कियो ।
यसमा विशेषगरी जापानी भाषालाई महत्व दिइन्थ्यो । आफू योग्य भए पनि कलेजले आफन्त तथा नातेदार हेरेर अर्कैलाई सिफारिस गरेको उनको भनाइ छ । ‘प्रिन्सिपलले कोटामा आफ्नो मान्छे पारेर मलाई वेटिङमा राखेको थियो,’ उनी भन्छिन् । यो घटनालाई उनले इखका रूपमा लिइन् ।
त्यसपछि उनले जापान अध्ययनका लागि आफ्नै प्रयासमा एप्लाई गरिन् । त्यसमा सफल पनि भइन् । कोटामा जसको नाम निस्किएको थियो, उनी भन्दा पहिला कल्पना जापान पुगिन् । परिवारको बलियो साथ थियो । कल्पना झन्डै ४ वर्ष जापान बसेर नेपाल फर्किइन् ।
नेपाल आएपछि भने कल्पना औपचारिक शिक्षाभन्दा सिप सिक्नतिर लागिन् । सिप सिक्नुपर्छ भन्ने ज्ञान उनलाई जापान बसाइका क्रममा प्राप्त भयो । जापानमा इन्टेरियरको राम्रो स्कोप थियो तर उनीसँग सिप थिएन । नेपाल फर्किएर यस सम्बन्धि सिप सिक्ने योजना बनाइन् ।
एक पत्रिकामा साई एकेडेमी नामक संस्थाको विज्ञापन देखिन्, जसले इन्टेरियर सिकाउने व्यहोराको विज्ञापन छापेको थियो । लगनखेलमा रहेको यो संस्थामा भर्ना भएर उनले १८ महिनाको कोर्ष पूरा गरिन् । त्यसबेला कल्पनासँग पढ्ने विद्यार्थी उनीभन्दा सानो उमेरका थिए ।
‘भर्खरै एसलएसी पास गरेका, प्लस–टू पढ्दै गरेका थिए । मेरो त धेरै उमेर गइसकेको थियो,’ उनी भन्छिन्, ‘उमेरले नछेक्ने रहेछ, ती सबैलाई मैले उछिनेँ ।’
सुरुमा केही असहज भए पनि सहज रूपमा लिएर मिहिनेत गर्दै सफलता हासिल गरेको उनको अनुभव थियो । यो कोर्ष पढ्दा कल्पनाको बच्चा पनि भइसकेको थियो । बढ्दो उमेरमा पाएको त्यो सफलताले उनमा हौसला थपियो । आत्मविश्वास बढ्यो । त्यसपछि क्लासिक इन्टेरियर कम्पनी दर्ता गरिन् ।
त्यसबेला कल्पनाले अन्य दुई जना साथीको साथ लिएर घरमै काम थालेकी थिइन् । कोपिला गौतम र गीता सुवेदी उनका पार्टनर थिए । अहिले यी दुवै जना साथी यो फिल्डमा छैनन् । कल्पना भने दुई दशकदेखि निरन्तर यसै पेसामा रमाइरहेकी छिन् ।
‘बन्दै गरेको घर देखियो भने कार्ड छाड्दै हिँड्थ्यौं,’ उनी सम्झन्छिन्, ‘कसैले इन्टेरियरलाई इन्जिनियर बुझ्थे, कसैले काठको काम गर्ने केटी भन्थे ।’ यसरी सुरुवात भएको पेसाको यात्रा आज पनि जारी छ । त्यसबेला काठमाडौंमा औँलामा गन्न सकिने संख्यामा मात्रै इन्टेरियर थिए । धेरैजसो भारतमा पढेर नेपाल आएर काम गर्थे ।
सामाजिक सेवामा सक्रिय
इन्टेरियरमा कति काम गरेँ भन्ने ठ्याक्कै आँकडा उनीसँग छैन । डिजाइन कोर्ने काम आफैँ गर्छिन् । आफूले नभ्याउने अवस्थामा काम सिकेका साथी तथा कामदार बोलाएर सहयोग माग्छिन्
२०५७ सालमा थकाली महिला संघ स्थापना भयो । त्यसअगाडि नेपाल जनजाति महासंघ स्थापना भएको थियो । महासंघले महिलाहरूको कामका त्यति चासो नदिएको गुनासो थियो । त्यसपछि जनजाति महिला महासंघको माग उठ्यो । ७ वटा संस्था मिलेर यशोकान्ती भट्टचनको अध्यक्षतामा जनजाति महिला महासंघ गठन गरियो । उनी थकाली महिला संघकी पनि अध्यक्ष थिइन् ।
कल्पना जापानबाट नेपाल आएपछि उनीहरूसँगको संगत बढ्यो । त्यसपछि जनजाति भित्रका केही वर्ग मात्र सम्पन्न हुनु ठूलो कुरा भएन, अनकन्टार गाउँमा पिछडिएको स्थानमा बसेका महिलाको उत्थानमा काम गर्नुपर्छ भनेर महासंघ र थकाली महिला संघले काम गर्न थाल्यो । उनी सुरुमा थकाली महिला संघमा आवद्ध भइन् ।
यसमा उनले झन्डै डेढ दशक विभिन्न भूमिकामा बिताइन् । साढे दुई वर्ष अगाडि जनजाति महिला महासंघको अधिवेशनमा थकाली महिला संघको तर्फबाट उनलाई उपाध्यक्ष (हिमाल) मा निर्वाचित गरियो । यसअघि उनले इन्टेरियर एसोसिएसनको कोषाध्यक्ष भएर पनि काम गरिरहेकी थिइन ।
सँगै थकाली खाना प्रवर्द्धन
नेपालमा थकाली खाना प्रख्यात छ । तर, यसको दस्तावेजीकरण नहुँदा थकालीका नाममा विकृति बढेको निष्कर्षमा यो समुदाय पुगेको थियो । खानामा गुणस्तर मेन्टेन नहुने चिन्ता महासंघमा हुने गरेको थियो । महासंघमा थकालीको मात्र नभई जनजाति समूदायकै खाना संरक्षण गर्नुपर्छ भनेर आफूले आवाज उठाएको उनको भनाइ छ ।
फास्टफुड बढी प्रयोग हुँदा स्वास्थ्य बिग्रने, नेपाली पैसा विदेशिने र स्वदेशी रैथाने खाना लोप हुने चिन्ताले महासंघमार्फत आफूले खानाको संरक्षणमा पहल लिएको कल्पना बताउँछिन् । रैथाने खाना जोगाउन काम गर्ने उद्देश्यले जनजाति महिला महासंघ मार्फत ब्रिटिस सरकारमा प्रपोजल पठाइयो । यो स्वीकृत पनि भयो ।
अहिले महासंघले चार वटा जिल्लाको ८ स्थानमा जनजाति परिकारको दस्तावेजीकरण गर्ने, भिडियो बनाउने, खानाको मेनु उतारेर किताब निकाल्ने तयारी गरेको छ । त्यसो त कल्पनासँग आफैँ रेष्टुरेन्ट चलाएको अनुभवसमेत छ । २०७२ सालको महाभूकम्पका बेला इन्टेरियरको काम ठप्प भयो । ‘मानिसहरू त्रासमा थिए, इन्टेरियर त लक्जरी सेवा हो,’ उनी भन्छिन्, ‘यसले मात्र नपुग्ने रहेछ भनेपछि हामी दिदीबहिनी मिलेर ललितपुरमा रेष्टुरेन्ट खोल्यौं ।’
घरैका चार दिदीबहिनी मिलेर पाटन हस्पिटलको ठ्याक्कै अगाडि थकाली किचेन रेष्टुरेन्ट खोलेका थिए । करिब ३/४ वर्ष चलाएपछि यो रेष्टुरेन्ट आफ्नै भाइलाई हस्तारन्तरण गरे । भाइले अहिले पनि त्यही रेष्टुरेन्ट चलाइरहेका छन् । अहिले त्यो रेष्टुरेन्ट शेरचन थकाली किचनका नाममा चलिरहेको छ । यो रेष्टुरेन्टको इन्टेरियरको काम आफैंले गरेको कल्पना बताउँछिन् ।
इन्टेरियरमा कति काम गरेँ भन्ने ठ्याक्कै आँकडा उनीसँग छैन । डिजाइन कोर्ने काम आफैँ गर्छिन् । आफूले नभ्याउने अवस्थामा काम सिकेका साथी तथा कामदार बोलाएर सहयोग माग्छिन् । विगतको तुलनामा इन्टेरियरको उत्पादन ह्वात्तै बढेको र प्रतिस्पर्धा समेत उत्तिकै रहेको कल्पनाको अनुभव छ । यद्यपि, महिला सहभागिता भने अपेक्षित बढ्न नसकेको उनी बताउँछिन् ।
अब काठको काम गर्ने पेसामा महिला पनि सक्षम हुनुपर्ने धारणा राख्छिन् कल्पना । यसमा आफूले पनि पहल लिने उनको योजना छ । ‘महिलाले खास्की घोट्ने र रङ दल्ने मात्र होइन, फर्निचरको सबै काम गर्न सक्छन् । यसमा उनीहरूलाई सक्षम बनाउन म पहलकदमी लिन्छु,’ उनी भन्छिन् ।