गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा ४३औँ मगर दिवसको अवसरमा तम्घास बजारमा सडकमै खाना महोत्सवको आयोजना गरेर मनाइएको छ ।
नेपाल मगर महिला संघ गुल्मीको आयोजना र मगर विद्यार्थी सङ्घको सह–आयोजना तम्घासको चिदिचौर परिसर सडकमा खाना महोत्सव प्रदर्शन गरी दिवस मनाइएको हो ।
दिवसका अवसर पारेर विभिन्न सांस्कृतिक प्रस्तुतिसहित तम्घास बजारमा र्याली समेत गरिएको थियो ।

स्थानीय जनजातिहरूको रैथाने खानाको स्वादहरूलाई आम जनतामा पस्कन तथा खाना पर्यटनलाई प्रवद्र्धन गर्नका लागि खाना महोत्सव आयोजना गरिएको स्थानीय निरञ्जन थापाले बताउनुभयो ।
महोत्सवमा मगर जातिको विभिन्न खानाको परिकार प्रदर्शन गरिएको थियो । महोत्सवमा विभिन्न संस्कृति झल्किने भेषभुषासहित सांस्कृतिक बाजा, नाच, तथा झाँकीहरु प्रदर्शनी गरिएको थियो । महोत्सवमा विभिन्न लोपोन्मुख खाना तथा खाजाका परिकारको स्टल राखिएको मञ्जु भलामीले बताउनुभयो ।

जिल्ला सदरमुकाम तम्घासमा केही वर्ष यता मगर एकता दिवसको अवसरमा विभिन्न खाले कार्यक्रमहरू हुँदै आएका छन् ।
दिवसको अवसर पारेर जिल्लाका ७ वटा स्थानीय सरकारले आज सार्वजनिक बिदा समेत दिएका छन् ।पालिकाहरूमा मगर समुदायको बहुल्यता रहेकाले कला, संस्कृतिको संरक्षणका लागि बिदा दिइएको जनाएका छन् ।