१५ फागुन, जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रका धार्मिक तथा ऐतिहासिक महत्वको १५ दिने मध्य (माध्यमिकी) परिक्रमा आजदेखि सुरु भएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला परिक्रमाका लागि प्रस्थान गरेपछि १५ दिने परिक्रमा विधिवत रुपमा सुरु भएको हो ।
आज दिउँसो जनकपुरधाम आइपुग्ने मिथिला बिहारीको डोला अग्निकुण्डमा विश्राम गरेर किशोरीजीको डोलासहित जनकपुरको अन्य मठमन्दिरको डोला हनुमाननगर पुग्नेछ । हनुमाननगरमा रात्रि विश्रामपछि शुक्रबार परिक्रमा भारत विहारको कलनस्थित कल्यानेश्वरका लागि प्रस्थान गर्ने छ ।
फागुने औँसीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत बिहारका दर्जनांै धार्मिक ऐतिहासिक स्थलहरुको ९० किलो मिटर र छिमेकी मुलुक भारतको ३० किलो मिटर गरि जम्मा १२० किलो मिटर भू–भागको यात्रा गरिन्छ ।
१५ दिने परिक्रममा अन्तर्गत क्रमश जनकपुरको हनुमान नगर, बिहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५ औ दिन जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्य परिक्रमा सम्पन्न हुनेगर्दछ ।
डोलामा परम्परागत बाजाँगाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा लाखौ नरनारीहरु सहभागिता हुने गर्छन् ।
वृहत्त, मध्य र अन्तरगृह गरि चीन प्रकारको परिक्रमा गरिन्छ । तर विभिन्न समस्याका कारण वर्तमान समयमा मध्य परिक्रमामा रुचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनिय रहेको छ ।