Thursday, February 27, 2025
घरसमाचारसीडीओविहीन थियो जिल्ला, प्रहरी भ्यान जल्ने अवस्था कसरी आयो ?

सीडीओविहीन थियो जिल्ला, प्रहरी भ्यान जल्ने अवस्था कसरी आयो ?

१४ फागुन, काठमाडौं । एउटा जोडीले भागेर विवाह गरेको विषयलाई लिएर मंगलबार दिनभर नवलपरासी पश्चिम तनावग्रस्त बन्यो । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नम्बरको भ्यान नै जलाइदिए

जनताको सुरक्षा गर्नुपर्ने प्रहरीले आफ्नै गाडीको सुरक्षा गर्न नसकेको भन्दै आलोचना समेत भयो । प्रहरीले भने प्रदर्शनकारीको ज्यान जोगाउन खोज्दा भ्यान जलेको दाबी गरेको छ ।

पालिनन्दन गाउँपालिका-३ बेलासपुरकी सहाना खातुन र सोही ठाउँका युवा डाक्टर धोबीबीचको प्रेम सम्बन्ध र विवाहले नित्याएको आक्रोस थियो, मंगलबारको घटना । धोबीले खातुनलाई भगाएर विवाह गरेपछि केटा र केटी पक्षबीच करिब दुई महिनादेखि विवाद हुँदै आएको थियो ।

एक प्रहरी अधिकृतका अनुसार सोमबार मात्रै केटी पक्षले केटाका भाइलाई ‘हाम्री छोरी कहाँ बेपत्ता पारिस्’ भन्दै कुटपिट गरेका थिए । आफ्नो मान्छे कुटिएपछि त्यसको बदला लिन भन्दै केटा पक्षका मान्छेहरु केटीको घर पुगे । त्यही बेला झडप भएको प्रहरीको भनाइ छ ।

केटीका दाइले पिकअप भ्यानले ठक्कर दिएर दुई जनालाई घाइते समेत बनाएका थिए । घाइतेमध्ये विजय धवलको मृत्यु भएको छ । गाडीको ठक्करबाट घाइते भएका अर्का व्यक्ति वैद्यनाम लौनियको भने उपचार भइरहेको नवलपरासी पश्चिमका एसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

त्यसपछि केटा पक्षले केटीको दाइको कवाडी पसलमा आगजनी गरेका थिए । यही आगजनीमा पर्न लागेका एक व्यक्तिलाई उद्धार गरेर लैजाने क्रममा प्रहरीको भ्यान जलेको प्रहरीको भनाइ छ । उक्त पसलमा आगजनी भएपछि छतमा रहेका मोहरम पबरियालाई इलाका प्रहरी कार्यालय महेशपुरको टोलीले उद्धार गरेको थियो ।

पालिनन्दन गाउँपालिका-३ बेलासपुरकी सहाना खातुन र सोही ठाउँका युवा डाक्टर धोबीबीचको प्रेम सम्बन्ध र विवाहले नित्याएको आक्रोस थियो नवलपरासी घटना ।

पबरियालाई उद्धार गरी प्रहरीले भ्यानमा हालेर सुरक्षित स्थानतर्फ लैजाँदै थियो । त्यही बेलामा प्रदर्शनकारीहरुको आक्रमणमा भ्यान परेको नवलपरासी पश्चिमका सहायक सीडीओ भविश्वर घिमिरे बताउँछन् । ‘सुरुमै प्रदर्शनकारीले गाडी रोकेर टायरमा आगजनी गरेपछि प्रहरी भ्यान जल्यो,’ उनले अनलाइनखबरसँग भने ।

प्रदर्शनकारीले भ्यान रोकेपछि प्रहरी पबरियालाई जोगाउन लागेपछि निशानामा प्रहरीको भ्यान परेको बताइन्छ । भ्यान जलाएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । सरकारी सम्पत्ति नष्ट गरेकाले उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

१ फागुन २०७९ मा बालाजुमा प्रदर्शनमा उत्रिएका यातायात मजदुरले प्रहरीको भ्यान जलाएका थिए । १३ पुस २०८० मा दुई जनाको ज्यान गएको ललितपुरको बालकुमारी घटनामा पनि प्रदर्शनकारीले मन्त्रीकै गाडी जलाएका थिए । यी घटनाले आन्दोलनकारीको निसानामा सरकारी गाडी पर्दै गएको देखिन्छ ।

मंगलबारको घटनालाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रु ग्याँस प्रहार गरेको थियो । सशस्त्र प्रहरीले पनि ६ राउन्ड अश्रु ग्यास र १ राउन्ड हवाई फायर गरेको थियो । झडपमा १२ नेपाल प्रहरी र ६ सशस्त्र प्रहरी घाइते भएका थिए ।

बेलैमा सजगता अपनाएर स्थिति नियन्त्रणमा लिएकाले ठूलो क्षति हुनबाट जोगिएको सुरक्षाका निकायको विश्लेषण छ । ‘दुई समुदायबीच द्वन्द्व भएर स्थिति भड्किने अवस्था थियो । तर हामीले संयमता अपनाउँदै बेलैमा स्थिति नियन्त्रणमा लिएकाले ठूलो दुर्घटना हुन पाएन,’ एक सुरक्षा अधिकृतले अनलाइनखबरसँग भने ।

स्थिति नियन्त्रणमा लिनका लागि १ सय ७८ जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाको भनाइ छ । नवलपरासीकै छिमेकी जिल्लाहरुबाट समेत प्रहरीको टोली मगाइएको थियो ।

घटना हुँदा सीडीओविहीन थियो नवलपरासी

४ फागुनमा खोटाङको हलेसी बजारमा आगलागी हुँदा खोटाङ प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन थियो । सीडीओ नहुँदा आगो नियन्त्रणमा समेत समस्या परेको थियो । खोटाङकै जस्तो घटना हिजो मंगलबार नवलपरासी पश्चिममा पनि दोहोरियो ।

मंगलबार बिहानबाटै दुई पक्षबीच झडप भएर एक जनाको ज्यान जाँदा नवलपरासी पश्चिम सीडीओविहीन थियो । गृहमन्त्रीस्तरीय निर्णयबाट ९ फागुनमा दुई सीडीओको सरुवा गरिएको थियो । जसमा नवलपरासी पश्चिमका सीडीओ स्किम श्रेष्ठलाई मकवानपुर सरुवा गरियो ।

मंगलबार बिहानबाटै दुई पक्षबीच झडप भएर एक जनाको ज्यान गयो भने १२ जना घाइते भए । यति ठूलो घटना भइरहँदा नवलपरासी पश्चिम भने सीडीओविहीन थियो ।

रौतहटका सीडीओ हिरालाल रेग्मीलाई नवलपरासी पश्चिम सरुवा गरिएको थियो । सोमबार साँझ मात्रै नवलपरासी पश्चिमबाट स्किम श्रेष्ठ बिदा भएकी थिइन् । नयाँ सीडीओ रेग्मी हाजिर भइसकेका थिएनन् । तर मंगलबार बिहानैदेखि नवलपरासी पश्चिम तनावग्रस्त बन्यो । घटनामा एक जनाको मृत्यु र दर्जनौं घाइते भए ।

स्थिति तनावग्रस्त बनेपछि मंगलबार राति नै सीडीओ रेग्मी नवलपरासी पश्चिममा हाजिर भएका थिए । घटना भएको जानकारी पाउनासाथ बिदा क्यान्सिल गरेर हाजिर भएको रेग्मीले अनलाइनखबरलाई बताए ।

दुई पक्षबीच छलफल गरेर मिलाउने तयारी

अहिले दुई पक्षबीच छलफल गरेर घटना मिलाउने तयारी गरिएको छ । केटा र केटी पक्ष दुवैलाई छलफलमा बोलाएर घटनाबारे यथार्थ बुझ्ने र विवाद मिलाउन प्रयास गरिने सीडीओ रेग्मीले बताए । ‘म भर्खरै हाजिर भएको छु । दुई पक्षबीचको विवादबारे छलफल गरेर विवाद सुल्झाउने प्रयास हुनेछ,’ रेग्मीले अनलाइनखबरसँग भने ।

दुई पक्षबीच विवाद हुँदा गाडीले किचेर गम्भीर घाइते भएका केटाका दाजु भनिएका ३५ वर्षीय विजय धवलको मृत्यु भएको थियो । उनको शव पोस्टमार्टम गरी परिवारलाई बुझाइने प्रहरीले बताएको छ ।

मंगलबार दिनभरजसो अस्तव्यवस्त बनेको नवलपरासी पश्चिम अहिले सामान्य अवस्थामा फर्केको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -