Wednesday, February 26, 2025
घरसमाचाररुस–युक्रेन युद्धमा अमेरिकाको ‘यूटर्न’, साना राष्ट्रका पक्षमा नेपालको मतदान

रुस–युक्रेन युद्धमा अमेरिकाको ‘यूटर्न’, साना राष्ट्रका पक्षमा नेपालको मतदान

१३ फागुन, काठमाडौं । रुसले युक्रेनमाथि हमला गर्दा युक्रेनलाई बलियो साथ दिएको अमेरिकाले पहिलोपटक संयुक्त राष्ट्रसंघमा उसको विपक्षमा मतदान गरेको छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा पुनः निर्वाचित भएसँगै उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हिमचिम बढाएका मात्रै छैनन्, युद्ध युक्रेनले शुरु गरेको भन्ने आरोप पनि लगाएका छन् ।

रुस–युक्रेन युद्धको तेस्रो वार्षिकीको अवसरमा संयुक्त राष्ट्रसंघमा पेश दुईवटा रिजोलुसनमा युक्रेनको विपक्षमा र रुसको पक्षमा मतदान गरेर ट्रम्प प्रशासनको अडानमा ‘यूटर्न’ गरेको स्पष्ट सन्देश दिएका छन् ।

युरोपियन युनियनले रुसको हमलालाई निन्दा गर्दै युक्रेनको भौगोलिक अखण्डतालाई समर्थन गर्ने रिजोलुसन संयुक्त राष्ट्रसंघको महासभामा पेश गरेको थियो । त्यो रिजोलुसनमा रुस, उत्तर कोरिया, बेलारुसलगायत मुलुकसँगै अमेरिकाले पनि विपक्षमा मतदान गरेको बीबीसीले उल्लेख गरेको छ ।

तर, नेपालले यो रिजोलुसनमा युक्रेनलाई साथ दिएको छ, जुन महासभाबाट पारित पनि भएको छ ।

त्यसका साथै, अमेरिकाले नै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा रुसलाई आलोचना नगरी द्वन्द्व अन्त्य गर्ने प्रस्ताव पेश गरेको थियो । राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेको सन्दर्भमा पेश भएको सो प्रस्ताव सुरक्षा परिषद्बाट पारित भयो । तर, सो प्रस्तावमा लेखिएका शब्दहरू संशोधन गर्ने प्रयासलाई भिटो प्रयोग गरी असफल बनाइएपछि अमेरिकाका परम्परागत सहयोगी मुलुकहरू बेलायत र फ्रान्स मतदानमा अनुपस्थित रहे ।

युद्धका विषयमा तीव्र मतान्तर भएपछि फ्रेन्च राष्ट्रपति इम्यानुयल म्याक्रोँले त्यसलाई समाधान गर्न भन्दै सोमबाट राष्ट्रपति ट्रम्पलाई भेटेका थिए । सोही दिन राष्ट्रसंघमा दुई रिजोलुसन पेश भएका हुन् । बेलायती प्रधानमन्त्री कियर स्टार्मरले बिहीबार राष्ट्रपति ट्रम्पलाई भेट्दै छन् ।

यसअघिका राष्ट्रपति जो बाइडेनको कार्यकालमा हरेक पटक अमेरिकाले युक्रेनको पक्ष लिएको थियो । अमेरिकाले युक्रेनलाई १ खर्ब ७७ अर्ब अमेरिकी डलर आर्थिक सहयोग पनि गरेको छ ।

युक्रेनको पक्षमा नेपालको निरन्तर अडान

छिमेकी देशहरू चीन र भारत संयुक्त राष्ट्रसंघको महासभाको मतदानमा अनुपस्थित हुँदा नेपालले भने ईयूले युक्रेनको पक्षमा पेश गरेको रिजोलुसनको पक्षमा मतदान गरेको छ ।

‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ भन्ने सो प्रस्तावको पक्षमा नेपालले मतदान गरेको हो । नेपालले रुस युक्रेन युद्ध शुरु भएदेखि नै युक्रेनको पक्षमा आफूलाई उभ्याउँदै आएको छ । सन् २०२२ मा रुसले युक्रेनको जमिन आफूमा गाभ्ने प्रयास गरेको विरोधमा संयुक्त राष्ट्रसंघमा पेश गरिएको रिजोलुसनको पक्षमा नेपालले मतदान गरेको थियो ।

अहिले अहिले पनि युक्रेनको पक्षमा आफूलाई राखेर आफ्नो पुरानो परराष्ट्रन नीतिलाई निरन्तरता दिएको हो । युक्रेनको न्याय र शान्तिका पक्षमा नेपालसहित ९३ देश उभिएपछि त्यो प्रस्ताव पारित भएको हो ।

अमेरिकासँगै रुस, उत्तर कोरिया, बेलारुस लगायतले विपक्षमा मतदान गरेका छन् । जर्मनी, बेलायत, फ्रान्सलगायत देश पक्षमा छन् । युक्रेनको पक्षमा मतदान गरेर नेपालले सही काम गरेको प्रधानमन्त्रीका पूर्वपरराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई बताउँछन् ।

नेपालले युक्रेनको पक्षमा मतदान गर्नुलाई कतिपयले असंलग्न परराष्ट्र नीति विपरीत बताउने गरेका छन् । तर, पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई असंलग्नता भनेको तटस्थता नभएको बताउँछन् ।

युक्रेनमाथि रुसले हमला गरेदेखि नै नेपालले युक्रेनको पक्षमा मतदान गर्दै आएको उल्लेख गर्दै उनले यसले नेपालको परराष्ट्र नीतिमा स्थिरता र निरन्तरता रहेको स्पष्ट सन्देश दिएको उनले बताए ।

‘शक्तिशाली छिमेकीले साना मुलुकको सिमाना नै बदल्न खोज्ने, जमिन नै हडप्न खोज्ने कुराको नेपालले विरोध गर्नुपर्छ । नेपालले सबै मुलुकको सार्वभौमिक समानता र भौगोलिक अखण्डतामा विश्वास गर्छ, त्यसको उल्लंघन भइरहँदा विरोध गर्नु नेपालको सही अडान हो,’ उनले भने ।

नेपालको भौगोलिक अवस्थितिका कारण पनि हामीले लिएको अडान ठिक भएको भट्टराईको तर्क छ ।

नेपालले युक्रेनको पक्षमा मतदान गर्नुलाई कतिपयले असंलग्न परराष्ट्र नीति विपरीत बताउने गरेका छन् । तर, पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई असंलग्नता भनेको तटस्थता नभएको बताउँछन् । र, नेपालले सधैं गुण र दोषका आधारमा निर्णय गर्ने गरेको उनको भनाइ छ ।

नेपालले युक्रेनको पक्षमा मतदान गर्नु असंलग्नताको सिद्धान्तअनुरुप नै रहेको प्रधानमन्त्रीका पूर्वपरराष्ट्र सल्लाहकार दिनेश भट्टराईको भनाइ छ ।

‘असंलग्नता भनेको हरेक घटनालाई केलाएर राष्ट्रको हित र स्वार्थमा जाने विषय हो । गुण र दोषका आधारमा राष्ट्रिय हितको पक्षमा जानु नै असंलग्नताको सिद्धान्त हो,’ उनले भने ।

संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै नेपालले सबै मामलामा भारत र चीनले जे गरे, त्यही मात्रै गरेको छैन । सन् १९५६ मा तत्कालीन सोभियत युनियनले हंगेरीमा सैन्य हस्तक्षेप गर्दा नेपालले हंगेरीको पक्षमा मतदान गरेको थियो, जबकि त्यो मामलामा भारत तटस्थ बसेको थियो ।

युक्रेनको पक्षमा मतदान गर्ने नेपालको निर्णय सही भएको राजनीतिक विश्लेषक अरुण सुवेदी बताउँछन् । यो मतदानमार्फत नेपालले आफूलाई साना राष्ट्रको पक्षमा उभ्याएको उनको भनाइ छ ।

‘युक्रेनी जनताले कसलाई राष्ट्रपति बनाए भन्ने उनीहरूको कुरा हो । तर, रसियाले युक्रेनमाथि गरेको आक्रमणलाई हामीले समर्थन गर्‍यौं भने त भोलि साना राष्ट्र र त्यहाँ भएको स्रोतहरूलाई जसले पनि अतिक्रमण गर्ने भएन भनेको ?’ सुवेदी भन्छन् ।

त्यसो हुँदा भारतले कहाँ मतदान गर्छ, अमेरिकाले कहाँ गर्छ भन्ने हेरेर नभई नेपालको स्वार्थका लागि युक्रेनकै पक्षमा मत हाल्नुपर्ने सुवेदीको भनाइ छ ।

संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै नेपालले सबै मामलामा भारत र चीनले जे गरे, त्यही मात्रै गरेको छैन । सन् १९५६ मा तत्कालीन सोभियत युनियनले हंगेरीमा सैन्य हस्तक्षेप गर्दा नेपालले हंगेरीको पक्षमा मतदान गरेको थियो, जबकि त्यो मामलामा भारत तटस्थ बसेको थियो ।

पछिल्लोपटक तटस्थ रहेबाहेक नेपालले इजरायल र अरब मुलुकको द्वन्द्वमा अरब मुलुकको पक्षमा मतदान गर्दै आएको पूर्वपरराष्ट्र सचिव भट्टराई बताउँछन् । अमेरिका र भारतसँग नेपालको राम्रो सम्बन्ध हुँदाहुँदै पनि नेपालले चीनलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाउने पक्षमा उभ्याएको उनी बताउँछन् ।

पाकिस्तान टुक्रिएर बंगलादेश बनेपछि चीनलगायत धेरै देशले मान्यता नदिँदा पनि नेपालले शुरुमै मान्यता दिएको उनको भनाइ छ ।

‘नेपाल सानो देश भएको र त्यस मामलामा युक्रेनसँग हाम्रो स्वार्थ मिल्ने भएकाले उसको पक्षमा नेपालले मतदान गरेको हुनसक्छ,’ उनी भन्छन्, ‘अरुले के गर्छन् भन्दा पनि हामीले हाम्रो देशको स्वार्थ हेर्ने हो ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -