Wednesday, February 26, 2025
घरसमाचार१२ फाइनलमा व्यहोरेको हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल

१२ फाइनलमा व्यहोरेको हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल

नेपालको महिला फुटबल टोलीले जति पनि प्रतियोगिताहरू खेल्यो त्यसमा समूह चरण र सेमिफाइनलसम्म राम्रो प्रदर्शन हुन्छ । तर फाइनलमा पुगेर नेपाल सधैं पराजित भइरहेको छ ।

१३ फागुन, काठमाडौं । जतिबेला नेपाली महिला फुटबलले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता आउँछ तब एउटा तथ्यले भने नेपाललाई सधैं झस्काउँछ । त्यो हो अहिलेसम्म खेलेको १२ फाइनलमा सधैं उपविजेता, अर्थात् फाइनलमा सधैं हार ।

नेपालको महिला फुटबल टोलीले जति पनि प्रतियोगिताहरू खेल्यो त्यसमा समूह चरण र सेमिफाइनलसम्म राम्रो प्रदर्शन हुन्छ । तर फाइनलमा पुगेर नेपाल सधैं पराजित हुन्छ । चाहे त्यो साफ च्याम्पियन होस् या साग । त्यस बाहेक खेलेका अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता होस् । जस्तो टिम भएपनि नेपाल फाइनल त पुग्छ तर नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन ।

नेपाल फेरि एकपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता फाइनल पुगेको छ । समग्रमा १३औं फाइनलमा खेल्दैछ । घरेलु मैदानमा भइरहेको इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले बुधबार म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल सामु उपाधि जित्ने अर्को अवसर आएको छ । हुन त नेपालले घरेलु मैदानमा फाइनल खेल्न लागेको यो पहिलो अवसर भने होइन । यसअघि नै साफ च्याम्पियनसिपमा ३ र दक्षिण एसियाली खेलकुद साग मा १ पटक घरेलु मैदानमै फाइनल खेल्दा नेपाल पराजित भएको थियो ।

सधैं फाइनल पुगेर पराजित भएपछि नेपाली महिला टोलीलाई फाइनलमा हार्ने टोलीको ट्याग नै लागेको छ । त्यो ट्यागलाई हटाउने अवसर नेपालसामु आएको छ तर त्यसका लागि नेपालले वरियतामा आफू भन्दा ४८ स्थान माथि रहेको टिम म्यानमारलाई पहिलो पटक हराउनुपर्ने हुन्छ ।

नेपाली टिमका कप्तान र प्रशिक्षकले म्यानमारसँग फाइनल खेलका लागि तयार भएको बताएका छन् । फाइनल बुधबार साँझ ६ बजे दशरथ रंगशालमा हुनेछ ।

फाइनलअघि मंगलबार प्रि म्याच प्रेस कन्फ्रेन्स आयोजना गरिएको थियो । जसमा नेपालका कप्तान र मुख्य प्रशिक्षकले म्यानमारसँग फाइनल खेल्न तयार रहेको र यस पटक उपाधि जित्ने विश्वास व्यक्त गरे ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले लिग चरणका तीनै खेलमा राम्रो प्रदर्शन गरेको र फाइनलका लागि अन्तिम तयारीमा रहेको बताए । ‘लिग चरणका खेलहरूमा राम्रो प्रदर्शन भयो । अब फाइनलको तयारीमा छौं’ उनले यसअघिका कमजोरी सुधार गर्दै फाइनलमा राम्रो प्रदर्शन गर्ने बताए ।

यस्तै कप्तान एन्जिलाले पनि प्रशिक्षकले भनेजस्तै यसअघिका खेलमा राम्रो भएको र फाइनलमा बेस्ट प्रदर्शन गर्ने बताइन् । ‘समग्रमा अहिलेसम्म सबै खेल राम्रो भयो । सबै खेलाडीले राम्रो खेलिरहनु भएको छ । सबैजना क्षमतावान् खेलाडी छन् र जसलाई खेलाएपनि खेल्न सक्छ’ एन्जिलाले भनिन्, ‘अब फाइनलमा फाइट गर्ने हो । आजसम्म हामी दुवै टिम सिल्भर मेडलमा छौं । भोली गोल्ड मेडलका लागि फाइट गर्नेछौं।’

‘भोली एक टिम मात्र च्याम्पियन बन्ने हो । जसले धेरै मिहिनेत गर्छ अनुशासनमा खेल्छ त्यसैले जित्ने हो । हामी तयार छौं र आफ्नो तर्फबाट बेस्ट दिनेछौं’ उनले थपिन् ।

फाइनल तथ्यांक

म्यानमारसँग नेपालले फाइनल खेल्दै गर्दा महिला फुटबलमा धेरै तथ्यांक पनि जोडिएको हुनेछ । नेपालले पछिल्लो एक वर्ष भित्र खेल्न लागेको यो लगातार तेस्रो फाइनल हो । महिला फुटबलमा समग्रमा १३औं फाइनल हो ।

अनि म्यानमारसँग अन्तर्राष्ट्रिय फुटबलमा खेल्न लागेको दोस्रो फाइनल हो । यस्तै घरेलु मैदानमा खेल्न लागेको यो पाँचौ फाइनल हो भने दशरथ रंगशालमै खेल्न लागेको यो तेस्रो फाइनल हो । अनी दशरथ रंगशालमा पनि फाइनल खेल्न लागेको लगातार दोस्रो पटक हो ।

यस्तै म्यानमारसँग पनि नेपालले लगातार दोस्रो पटक खेल्न लागेको हो । यसअघि नेपालले ओलम्पिक फुटबल छनोटमा दशरथ रंगशालामै भियतनाम विरुद्ध होम एण्ड अवेको दुवै म्याच दशरथ रंगशालमा लगातार खेलेको थियो ।

नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपमा ६ पटक, दक्षिण एसियाली खेलकुद सागमा ३ पटक, हिरो गोल्डकप, नादेज्दा कप र वाफ च्याम्पियनसिपमा एक-एक पटक फाइनल खेलेको छ ।

१२ पटक फाइनल खेल्दा नेपालको प्रतिद्वन्दी ५ टिम मात्र छ । साफमा ४ पटक भारत र २ पटक बंगलादेशसँग पराजित भएको नेपाल सागमा भारतसँग तीनै पटक पराजित भएको थियो । यस्तै हिरो गोल्डकपमा म्यानमारसँग, नादेज्दा कपमा उज्वेकिस्तान र वाफमा जोर्डनसँग पराजित भएको थियो ।

एक वर्षभित्र तेस्रो फाइनल

नेपालको महिला टिम अहिले उत्कृष्ट लयमा छ, त्यसमा कुनै शंका छैन । त्यसको उदाहरण हो एकवर्षभित्र तीन प्रतियोगिताको फाइनल पुग्नु । यसअघि वाफ र साफमा पनि नेपालले राम्रो खेल्दै फाइनल पुगेको थियो । तर उपाधि जित्न सकेन । एक वर्ष अन्तरमा तीन प्रतियोगिता फाइनल खेल्नु चानचुने पक्कै होइन ।

नेपाली महिला फुटबलका लागि उपाधि नजित्दा पनि यो राम्रो उपलब्धि बनिरहेको छ । यो तीन फाइनलमा नेपालको कप्तान र प्रशिक्षक भने एकै थिए । त्यसैले कप्तान एन्जिला र प्रशिक्षक राजेन्द्र तामाङका लागि पनि म्यानमारविरूद्धको फाइनल विशेष हुनेछ ।

दुवैले आफ्नो करियर र नेपाली फुटबलकै लागि पनि यो महत्वपूर्ण अवसर रहेको बताए । ‘कोचिङ करियरमा पनि राम्रो हो एकै वर्ष तीनवटा फाइनल खेल्नु । हामीले देशका लागि ट्रफी जित्न सकिरहेका छैनौं । हामी देशका लागि केही गर्नुपर्छ ट्रफी जित्नुपर्छ भनेर सोचिराखेका छौं’ प्रशिक्षक तामाङले भने, ‘वाफमा पनि हामीले बाजी मार्न लागेको थियौं । साफ हामी आफ्नै ट्याक्टिमा पछि पर्‍यो । लास्ट एउटा बाँकी छ । यसमा एकदम धैर्य गरेर, टिममा राम्रो माहोल र वातावरण बनाएर यो ट्रफीलाई जसरी हुन्छ जित्ने वातावरण मिलाउनेछौं ।’

यस्तै कप्तान एन्जिलाले लगातार ३ फाइनल खेल्नु आफ्नो लागि मात्र नभएर टिमकै लागि पनि अवसर रहेको बताए । ‘एक वर्षमा ३ फाइनल खेल्दैछौं। कप्तानको रुपमा प्रभाव पार्छ’ उनले भनिन्, ‘फेरि पनि चान्स आएको छ हामीलाई सुधार गर्नका लागि । गोल्ड मेडल जित्न र च्याम्पियन हुनलाई । भोलि पक्कै पनि राम्रो गर्छौं । व्यक्तिगत रुपमा मलाई मात्र नभएर टिमलाई नै जित्नुपर्ने भन्ने छ ।’

एन्जिलाले अनुशासिनत भएर कोचको फिलोसोफी अनुसार खेल्दै नतिजा ल्याउने बताइन् । ‘हामीले गोल्ड मेडल नजितेको यतिका वर्ष भइसक्यो । गोल्ड जित्नुपर्छ भन्ने सबैलाई भोक छ’ उनले भनिन्, ‘फाइनलमा कम मिस्टेक गर्ने र एज ए टिम खेल्नुपर्‍यो । अनुशासनमा बसेर, कोचको फिलोसोफी अनुसार अन्तिमसम्म खेल्यो भने पक्कै पनि राम्रो नतिजा आउँछ जस्तो लाग्छ।’

म्यानमारविरूद्ध जितविहीन नेपाल

नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ खेल खेलेपनि जितविहीन छ । म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको थियो ।

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत नै यी दुई टोलीबीच भएको पछिल्लो खेल २-२ को बराबरीमा सकिएको थियो । यसअघि सन् २०१८ मा नेपाल र म्यानमार पहिलो पटक एसियाली क्षेत्रको ओलम्पिक छनोटको भिडेका थिए । जहाँ नतिजा थियो १-१ ।

यी दुई बराबरीको बीचमा तीन खेल भए । तीनै खेल म्यानमारले सहजै जित्यो । सन् २०१९ मा भारतमा भएको हिरो गोल्डकपमा पनि नेपाल र म्यानमारबीच दुई खेल भएको थियो । समूह चरणमा ३-० ले पराजित भएको नेपालले फाइनलमा एक गोल गरेपनि ३-१ ले पराजित भयो । यस्तै २०१९ मै भएको एसियाली क्षेत्रको ओलम्पिक छनोटको दोस्रो चरणमा नेपाल म्यानमारसँग ३-१ ले नै पराजित भएको थियो ।

अहिलेसम्म नेपाल र म्यानमारबीचको पाँच खेलमा म्यानमारले १२ गोल गरेको छ भने नेपाल ५ गोल फर्काएको छ । एक खेलमा भने नेपालले म्यानमार विरुद्ध गोल गर्न सकेन ।

नेपाल र म्यानमार अन्तर्राष्ट्रिय फुटबलको फाइनलमा खेल्न लागेको पनि यो दोस्रो पटक हो । यसअघि सन् २०१९ मा भारतमा भएको हिरो गोल्डकपको फाइनलमा दुई टिमबीच प्रतिस्पर्धा हादा म्यानमार ३-१ ले विजयी भएको थियो । त्यो बेला लिग चरणमा पनि नेपाल म्यानमारसँग पराजित भएको थियो । यस पटक नेपालले लिग चरणमा म्यानमारलाई दुई पटक पछि परेको स्थिती उल्टाउँदै बराबरीमा रोकेको थियो ।

नेपाल भर्सेस म्यानमार नतिजा

एएफसी ओलम्पिक क्वालिफायर फस्ट राउण्ड, २०१८ नोभेम्बर : नेपाल १-१ म्यानमार
एएफसी ओलम्पिक क्वालिफायर सेकेण्ड राउण्ड, २०१९ अप्रिल : नेपाल १-३ म्यानमार
हिरो वुमन्स गोल्डकप, २०१९ फेब्रुअरी : समूह चरणमा नेपाल ०-३ म्यानमार, फाइनलमा नेपाल १-३ म्यानमार
इन्टरनेशनल वुमन्स च्याम्पियनसिप, २०२५ फेब्रुअरी : नेपाल २-२ म्यानमार

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप २०२५
फाइनल : नेपाल भर्सेस म्यानमार

मिति : फेब्रुअरी २६, २०२५ (१४ फागुन, २०८१)

समय : साँझ ६ बजे

स्थान : दशरथ रंगशाला, त्रिपुरेश्वर काठमाडौं

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -