८ फागुन, जनकपुरधाम । जनकपुरधामको एक सुधार केन्द्रमा युवकको शंकास्पद मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका १० डुमरियाका २० वर्षीय राजकुमार यादवको मृत्यु भएको हो ।
दुई महिनादेखि जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुर स्थित किशोर फाउण्डेशन (सुधारेकन्द्र)मा बसिरहेका उनको बुधबार साँझ मृत्यु भएको हो ।
किशोर फाउण्डेशनका व्यवस्थापक संजिव शर्माका अनुसार घाँटीमा कफ जमेको जस्तो भई सास लिन समस्या भएपछि बुधबार बिहान ११ बजेतिर जनकपुरको समर अस्पताल लगिएको थियो ।
उपचारपछि चिकित्सकले निगरानीमा राख्नु भन्दै पठाएका थिए । दिउँसो पुनः समस्या भएपछि साढे ४ बजेतिर प्रादेशिक अस्पताल जनकपुरमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको शर्माको दावी छ ।
प्रादेशिक अस्पताल जनकपुरका अकास्मिक कक्षका इन्चार्ज सरद यादवले भने उपचारको लागि ल्याउँदा नै उनको मृत्यु भइसकेको थियो । त्यस बेला अकास्मिक कक्षमा मेडिकल अफिसर राधे मण्डल र रमेश यादव डिउटीमा थिए ।
‘राजकुमारलाई उपचारको लागि ल्याउँदा मृत्यु भइसकेको थियो,’ आकस्मिक कक्षका इन्चार्ज यादवले भने ।
स्थानीय महेशलाल यादवका अनुसार चार दिनअघि राजकुमारकी आमा सरस्वती देवीले छोरा भेट्न आएकी थिइन् । अनुहार मलिन देखेपछि आफूसँगै घर लैजान खोज्दा सुधार केन्द्रका सञ्चालकले ४/५ महिना राखे निको हुने भन्दै रोकेका थिए । परिवारजनले औषधि अत्यधिक सेवन गराउँदा ज्यान गएको आरोप लगाएका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुरले समर हस्पिटलमा उपचारपछि राजकुमारलाई सुधार केन्द्र लगिएको, त्यहाँ पुगेपछि सुतेको सुत्यै भएकाले पुनः उपचारका लागि प्रादेशिक अस्पताल लगिएको जानकारी सुधार गृह सञ्चालकले दिएको बताए ।
राजकुमारको शवको बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम गरिएको छ । राजकुमार घरका एकला छोरा थिए । विवाहित उनका दुई सन्तान छन् । राजकुमारका बुवा रामबाबु वैदेशिक रोजगारीमा छन् । परिवारजनले सुधार केन्द्रको लापरबाहीले छोराको मृत्यु भएको भन्दै छानबिनको माग गरेका छन् ।