तामाङ १४ मंसिरमा रसुवाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएको प्रमाणपत्र शिलापत्रले फेला पारेको छ । प्रमाणपत्रमा लेखिएअनुसार कांग्रेसमा उनको क्रियाशील सदस्यता नम्बर ३३१०१२०३०२१८४१४ हो ।
यही प्रमाणपत्र पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकाेटाले फेसबुकमा शेयर गरेका छन् । देवकाेटा रसुवाकाे छिमेकी जिल्ला नुवाकाेट निवासी हुन् ।
सांसद पद जोगाउनकै लागि तामाङले महाधिवेशन प्रतिनिधि चुनिएको प्रमाणपत्र गुपचुप बुझेका थिए भने प्रदेश अधिवेशनमा भोट हाल्न टोपी र मास्कले मुख छोपेर पुगेका थिए ।
जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्ना सांसद तामाङ कांग्रेस महाधिवेशन प्रतिनिधि चुनिएको प्रमाण भेटिए उनलाई कारबाही गरिने बताएका थिए ।
२०७४ सालको चुनावमा तत्कालीन नयाँ शक्ति पार्टीले संघको टिकट दिए पनि कांग्रेसका मोहन आचार्यलाई संघीय निर्वाचन क्षेत्र छोडेर उनी प्रदेशमा ओर्लेका थिए । पछि नयाँ शक्ति, संघीय समाजवादीहुँदै अन्य पार्टीमा मिलेर जसपा बनेको छ । र, बागमती प्रदेशमा प्रेम जसपाका एक मात्र सांसद हुन् ।
भित्रभित्रै कांग्रेस राजनीतिमा सक्रिय तामाङले दलबदलसम्बन्धी कानुनका कारण यसबारे बोल्न इन्कार गर्दै आएका थिए । प्रेम तामाङ कांग्रेस सभापति शेरबहादुर देउवा पक्षमा छन् । बागमती प्रदेशमा अहिले देउवा समूहकै उम्मेदवार इन्द्र बानियाँले चुनाव जितेका छन् । कांग्रेस प्रदेश अधिवेशनकै कारण बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । स्रोतका अनुसार, कांग्रेसले प्रेम तामाङलाई राज्यमन्त्री बनाउने तयारी गरेको छ । तर, उनका लागि मन्त्री पद पाउन मुस्किल हुन सक्छ ।
कानुनअनुसार पार्टी फुटाएर जान संसदीय दलको ४० प्रतिशत संख्या चाहिन्छ । बागमतीमा जसपाका एक्ला सांसद भएकाले उनीसित शतप्रतिशत संख्या हुन्छ । अर्काे पार्टीमा प्रवेश गर्दा नयाँ संसदीय दल गठन गरेको जानकारी सभामुखलाई गराउनुपर्ने व्यवस्था छ ।
यस्तो जानकारी तामाङले सभामुखलाई गराउनुअघि नै जसपाले प्रेम तामाङ हाम्रो पार्टी सदस्य होइन भनेर सभामुखलाई लिखित जानकारी गराए उनले सांसद् पद गुमाउँछन् ।
फरक पार्टीकाे केन्द्रीय महाधिवेशन निर्वाचित भएकाे प्रमाणपत्र बाहिरिएसँगै जसपाले सांसद तामाङलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ । उनको जवाफपछि मात्रै पद खारेजीको निवेदन निर्वाचन आयोगमा दिने, नदिनेबारे पार्टीले निर्णय लिने अध्यक्ष उपेन्द्र यादवलाई उद्धृत गर्दै उनका प्रेस संयोजक महेश चौरसियाले बताए ।
‘हाम्रो पार्टीको सांसद भएर कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएको प्रमाणपत्र पार्टीले फेला पारिसकेको छ । पहिला उहाँलाई स्पष्टीकरण सोधिनेछ । उहाँले जवाफ दिनुभएन वा दिएको जवाफ पार्टीलाई चित्त बुझेन भने निर्वाचन आयोगमा उहाँको पद खारेजीको निवेदन दिइनेछ’, अध्यक्ष यादवलाई उद्धृत गर्दै चाैरसियाले भने ।