२०८३ जेष्ठ १२ गते, मंगलवार ०६:३७

पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छ : मन्त्री गुरुङ

कास्की । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । 

पोखरा रङ्गशालामा आजदेखि सुरु पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सरकारको सपना पोखरालाई सबै हिसाबले समृद्ध बनाउने रहेको उल्लेख गर्नुभयो । 

“गण्डकी प्रदेश स्रोत र साधनले सम्पन्न छ । मानवीय प्रयासले अझ शान्त र सभ्य, समृद्ध बनाउने हाम्रो सपना छ । पर्यटकीय राजधानीसँगै पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्दछ”, सञ्चार मन्त्री गुरुङले भन्नुभयो । 

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले पोखरालाई खेलकुद राजधानीसँगै शिक्षा र स्वास्थ्यको राजधानी बनाउनका लागि भौतिक पूर्वाधार निर्माण सरकारको योजनामा रहेको बताउनुभयो । 

टाइगर कप भलिबलसहित, आहा रारा गोल्डकप फुटबल, अन्तर्राष्ट्रिय म्याराथनलगायतका प्रतियोगिताले यहाँको खेलकुदको विकासमा सहयोग गरेको उहाँको भनाइ थियो । मन्त्री गुरुङले पोखरामा ‘आइटी पार्क’ र ‘डाटा सेन्टर’ बनाउने सरकारको योजना रहेको सुनाउनुभयो । 

पोखरा महानगरका प्रमुख धनराज आचार्यले खेलकुद विकासलाई महानगरले प्राथमिकतामा राखेको बताउनुभयो । खेल र खेलाडीका लागि महानगरले सहयोग गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो ।

पोखरा रङ्गशालामा आजदेखि सुरु प्रतियोगिता यही माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ छ गरी कूल १२ टोलीको सहभागिता छ । 

आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले गण्डकी प्रदेशमा लोकप्रिय भलिबल खेल विकास र खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । 

प्रतियोगितामा विदेशी टोलीका रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता जनाएका छन् । 

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । 

प्रतियोगिताको च्याम्पियन टोलीले महिला तथा पुरुषतर्फ समान नगद रु पाँच लाख ८५ हजार पाँच सय ५५ पाउनेछन् । दोस्रो हुनेलाई रु दुई लाख ८५ हजार पाँच सय ५५ र तेस्रो हुनेलाई रु एक लाख ८५ हजार पाँच सय ५५ ट्रफी र पदक प्रदान गरिनेछ । 

महिला तथा पुरुष दुवैतर्फ सर्वोत्कृष्ट खेलाडीले जनही रु २५ हजार सात सय ७७ पाउनेछन् भने दुवैतर्फ विधागत उत्कृष्ट खेलाडीलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM