२०८३ बैशाख २१ गते, सोमबार १२:३१

सोल्टी होटलको भोजमा सुरक्षा निकायका ठेकेदारहरूबीच धक्का-मुक्की

काठमाडौं । भोजभतेरमा मदिरा राख्ने प्रचलन नै बनिसकेको छ । त्यसमाथि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको बन्दोबस्तीका सामान आपूर्ति गर्ने ठेकेदारको भोजमा मदिरा हुने नै भयो । पाँचतारे होटल सोल्टीको उक्त भोजमा निम्तालुका लागि ब्रान्डेड मदिरा, वाइनदेखि बियर राखिएको थियो ।

मदिराको सुरमा बिगतका तीता कुराहरु अभिब्यक्त हुने गर्दछन् । यस्तै भएको छ, सुरक्षा निकायमा सामान आपूर्ति गर्ने ठेकेदार राजमान मिश्रको छोरीको बिबाह भोजमा । माघ ३ गते ताहाचलस्थित होटल सोल्टीमा मिश्रकी छोरीको पार्टी थियो । उक्त भोजमा सुरक्षा निकायमा सामान आपूर्ति गर्ने ठेकेदारहरु सहभागी हुने नै भए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको प्रशासन, प्रबन्ध र आर्थिक प्रशासनदेखि लेखा शाखामा काम गरिसकेका पूर्व र वर्तमान अधिकृतहरुसमेत सहभागी थिए ।

मिश्रको आयोजनामा भएको उक्त भोजमा मदिरापान गर्दै गएपछि एक ठेकेदारले अर्को ठेकेदारलाई आफ्नो काम खोसेको भनेर भनाभन, तँ तँ म म मात्र होइन, हात नै हात नै हालाहालको अवस्था सृजना भएको थियो ।

भोजमा सुरक्षा निकायमा बन्दोबस्तीकै सामान आपूर्ति गर्ने धादिङका प्रल्हाद अधिकारीले अर्का ठेकेदार टोपेन्द्र बीसीलाई आफूले पाउन लागेको ठेक्का खोसेको आरोप लगाएका थिए । सशस्त्र प्रहरीको जंगल ह्याटको टेण्डर प्रल्हादले पाउनेगरी भनसुन गराएर नमूना तयार गरे । भने बमोजिम नै प्रल्हादले नमूना तयार गरेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकै स्वकीय सचिव भानु देउवाबाट भन्न लगाएकाले जंगल ह्याटको ठेक्का पाउने कुरामा अधिकारी ढुक्क थिए ।

सशस्त्रले उनकै नमूनासँग मिल्ने स्पेक बनाएर टेण्डर गरे पनि सशस्त्रले कारणबस उक्त टेण्डर रद्द गर्यो । १५ दिनको अवधि राखेर पुनः टेण्डर गरियो । सशस्त्रले पुनः टेण्डर गर्दा जंगल ह्याटको ठेक्का प्रल्हादले पाउन सकेनन् । नेपाल टेलिकमका कर्मचारी भएर पनि श्रीमतीका नाममा कम्पनी खोलेर सुरक्षा निकायमा ठेक्कापट्टा गर्ने तेजसम इन्टरप्राईजेजका टोपेन्द्र बीसीले जंगल ह्याट आपूर्तिको ठेक्का पाए । नमूना तयार गर्न करिब ५ लाख खर्च गरिसकेका प्रल्हाद अधिकारी ठेक्का नपाएपछि रुष्ट भएका थिए ।

मिश्रको भोजमा बीसीलाई उनले त्यही तीतो पोख्ने क्रममा झगडा भएको र हात हालाहालकै तहमा पुगेपछि बलिया पाखुरा भएका अर्का ठेकेदार मित्र लामाले दुबैलाई छुट्याएका थिए । भोजमा अप्रिय स्थिति आउन नदिन लामाले सम्झाएर कुटाकुट हुनबाट रोकेका थिए । बीसीले नियोजित ढंगले सशस्त्रको प्रबन्धका एसएसपी दीपेन्द्र कुँवरको आडमा पहिलो टेण्डर रद्द गराएर रिटेण्डर गरी जंगल ह्याटको ठेक्का प्राप्त गरेको आरोप प्रहाल्दले लगाएका थिए ।

धादिङका कांग्रेस नेता तथा हालका कृषिमन्त्री रामनाथ अधिकारी, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको समेत निकट भएकाले उनीहरुले समेत भनसुन गरिदिएर प्रल्हादले नेपाल प्रहरी र सशस्त्रका बन्दोबस्तीका सामान आपूर्ति गर्दैआएका छन् ।

उनीहरुले नै भनिदिएर प्रल्हादले गएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको चुनावमा म्यादी प्रहरीको पोशाक लगायतको काम पनि पाएका थिए । सार्वजनिक खरिद ऐन नियम छल्न खाँण गृहमन्त्री हुँदा म्यादी प्रहरीको लागि आवश्यक पोशाक लगायत जिल्ला जिल्लाबाट खरिद गरिएको थियो । प्रहरी प्रधान कार्यालयबाटै यो यो ठेकेदारबाट खरिद गर्नू भनेर खरिद नियमावली छल्न म्यादी प्रहरीको पोशाक लगायत खरिद गरिएको थियो ।

डेढ बर्षअघि करिब ४० करोड रुपैयाँ बराबरको हिमाली सामान(स्नो आइटम) को मिश्रले आर्थिक प्रशासनका एसएसपी होम ज्ञवालीमार्फत् लिएपछि कुँवर निकै रुष्ट थिए । रवि लामिछानेको पार्टी (रास्वपा)का केन्द्रीय सदस्य बिष्णकुमार श्रेष्ठलाई पार्टनर राखेर स्नो आइटमको ठेक्का मिश्रले लिएका थिए । आफूलाई महत्व नदिई होम ज्ञवालीमार्फत् ठेक्का लिएपछि कुँवर–मिश्रबीच पानी बाराबार जस्तै रहेको स्रोत बताउँछ ।

ठेकेदार मिश्र पनि कुँवर सशस्त्रको प्रबन्धमा रहेसम्म हलचोक नछिर्ने कसम खाएको भन्दै हिड्ने गर्दछन् । एसएसपी कुँवर र टेलिकमका कर्मचारी भएर सुरक्षा निकायका ठेक्का लिने टोपेन्द्र बीसीबीच घनिष्ठता रहेको छ । बुढानीलकन्ठको हात्तीगौंडामा घर पनि सँगै भएकाले कुँवरले बीसीलाई नै सकेसम्म सशस्त्रका ठेक्का दिने चाँजोपाँजो मिलाउने गरेको आरोप छ ।

सोल्टी होटलको उक्त भब्य भोजमा भोजमा नेपाल प्रहरीका पूर्वएआईजी हरि पाल, प्रहरीकै पूर्वडीआईजी घनश्याम अर्याल, सशस्त्रमा शैलेन्द्र खनालको कार्यकालमा प्रबन्धमा बसेका र हाल प्रशासन बिभागमा कार्यरत डीआईजी दीपेन्द्र शाहलगायतका धेरै सम्भाररथी, प्रशासन, प्रबन्ध र लेखामा कार्यरत सेना, प्रहरी, सशस्त्रका पूर्व र बहालवाला धेरै अधिकृतहरुको उपस्थिति थियो ।

 

 

 

नेपाल फेस

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM