७ माघ, काठमाडौं । पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा दुई विदेशीसहित ६–६ टोलीले भाग लिनेछन् ।
यो संस्करणमा विदेशी टोलीको रुपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ श्रीलंकन आर्मी भलिबल टिम सहभागी छन् । पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब सहभागिता जनाएका छन् ।
महिलातर्फ सहभागी हुने टोलीमा नेपाल एपीएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् ।
यसपाली आयोजकले छुट्टै महिला टिम सहभागी बनाएको छ । पुरूषतर्फ गण्डकी र महिलातर्फ आयोजक टोलीमा ३–३ विदेशी खेलाडी समावेश गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विभागीयबाहेक अन्य टोलीले पनि विदेशी खेलाडीलाई अनुबन्ध गर्ने भएकाले प्रतियोगिता झनै रोमाञ्चक हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । प्रतियोगिताको फर्म्याट समेत नयाँ रोमाञ्चक खालको बनाउन लागिएको संयोजक ज्ञवालीले बताए ।
पाँचौं संस्करणमा पुरुष र महिला दुवैतर्फको विजेताले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेतालाई समान २ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए ।
प्रतियोगितालाई डिजिटल प्रविधिमैत्री बनाउँदै एलईडी स्क्रिन डिजिटल बोर्डको व्यवस्था गरिएको ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगितालाई अन्र्तराष्ट्रिय स्तरकै बनाउने प्रयास भइरहेको उनको भनाइ छ ।
प्रतियोगिता पाचौं संस्करणसम्म आईपुग्दा विदेशी टिमहरुले भाग लिनु नेपाली भलिबल प्रेमीका लागि सुखद भएको अध्यक्ष शर्माले बताए । प्रतियोगिताबाट बचत भएको रकम विगतमा जस्तै स्वास्थ्य, खेलकुद, शिक्षा, सामाजिक क्षेत्रमा खर्च गर्ने आयोजकको तयारी छ । प्रतियोगिताका लागि प्यारापिट, कोर्ट बनाउने काम भइरहेको अध्यक्ष शर्माले बताए ।
पाँचौँ टाइगर कप भलिबलमा दर्शक क्षमता बढाएर २ हजार पुर्याइएको छ । यसअघि दर्शकको चाप धेरै हुने गरेकाले यसपालि दर्शक क्षमता बढाइएको हो ।
यस संस्करणमा अनलाइनबाट टिकट काट्न मिल्ने व्यवस्था पनि गरिएको छ । खेल हेर्नका लागि इसेवामार्फत अनलाइनबाट काट्न सकिनेछ ।