भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रे रङ्गशालामा जारी दोस्रो आमन्त्रित गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएका सेमिफाइनल खेलबाट राजगढ फुटबल क्लब झापा र भोजपुरको तिवारी भञ्ज्याङ फुटबल क्लब फाइनलमा प्रवेश गरेका छन् ।
सोमबार भएको पहिलो सेमिफाइनलमा राजगढले कोट कालिका फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलको निर्धारित समयमा राजगढको तर्फबाट रेजिन माझी र श्याम मुर्मुले गोल गरेका थिए भने कोटकालिकाका लागि अमित ब्रेसर र रिचार्ड विलसनले गोल गरेका थिए ।
निर्धारित समयपछिको पेनाल्टी सुट आउटमा भने राजगढले कोट कालिकामाथि ४–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । सो खेलको म्यान अफ द म्याच राजगढका गोलरक्षक योगेश धिमाल बने ।
दोस्रो सेमिफाइनल खेलमा पौवादुङमा खेलकुद बिकास समिति (बि) लाई हराउँदै तिवारी भञ्ज्याङ फुटबल क्लबका फाइनलमा प्रवेश गरेको छ । शून्यका विरुद्ध एक गोल गर्दै तिवारी भञ्ज्याङ फाइनलमा प्रवेश गरेको हो । जितका लागि ग्लोरीले एक गोल गरेका थिए ।
गाउँपालिका खेलकुद विकास समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।
फाइनल खेल यही माघ ९ गते हुने छ ।