चन्द्रसूर्य समाचारदाता
वीरगंज, २६ श्रावण ।
सनातन संस्कृतिको संरक्षण नै सम्पूर्ण जगत एवं मानव सभ्यताको रक्षाको आधार भएको विश्व ज्योतिष महासंघ भारतका अध्यक्ष ज्यो. अशोक कुमार मिश्राले बताएका छन् ।
नेपालको अनौपचारिक भ्रमणमा आउनु भएका अध्यक्ष ज्यो. मिश्रले वीरगंजमा स्वागत एवं सम्मान ग्रहण गर्नु हुँदै सो कुरा बताउनु भएको हो ।
नेपाल ज्योतिष परिषदका केन्द्रिय उप महासचिव ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुबेको अगुवाईमा आयोजित सम्मान कार्यक्रममा विश्व ज्योतिष महासंघ भारतका अध्यक्ष ज्यो. अशोक कुमार मिश्राले नेपाल-भारतको सम्बन्ध समान संस्कृतिभन्दा माथि एक अर्काको परिपूरक भएको बताउनु भयो । सनातनी संस्कृतिले नै दुई देशबीचको आपसी मित्रता, भाईचारा इत्यादीलाई अनन्त कालसम्म टिकाइराख्ने सेतु अर्थात पुल रहेको अध्यक्ष मिश्रा बताउनु भयो ।
अध्यक्ष मिश्रले संसारमा मानिने सबै धर्मको मूल सार नै हिन्दू धर्मबाट लिइएकोले हिन्दू धर्म, संस्कृति, संस्कार र सभ्यता आफैंमा उत्कृष्ट रहेकोले यसको संरक्षणमा सबैको आपसी सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।
नेपालको अनौपचारिक भ्रमण सकेर स्वदेश भारत फर्किन लागेका विश्व ज्योतिष महासंघ भारतका अध्यक्ष ज्यो. अशोक कुमार मिश्रालाई नेपाल ज्योतिष परिषदका केन्द्रिय उपमहासचिव ज्यो. सम्राट पंडित पुरुषोत्तम दुबेले स्वागत गर्दै वीरगंजस्थित प्रसिद्ध गहवामाई मन्दिर, अलखिया मठमा पूजा दर्शन गराउनु भयो । साथै मोहन मार्केट स्थित ज्योतिष कार्यालयमा सम्मान कार्यक्रमको आयोजना गर्दै फूलमाला लगाएर स्वागत गर्नु भयो ।
सो समारोहमा हिन्दूवादी अगुवा एवं अधिवक्ता अनिरुद्ध प्रसाद सिंह, ब्राम्हण समाज नेपालका संरक्षक नरेन्द्र तिवारी, अपाङ्ग कल्याण संघका अध्यक्ष संजय कुमार सर्राफ, हिन्दुवादी अमोद कुमार श्रेष्ठ, नेखचन्द्र प्रसाद सोनार, उदयकान्त झा, नेपाल पत्रकार महासंघ एशोसिएट प्रदेश सदस्य सन्तोष मिश्र, ओम गुप्ता, विपिन तिवारी, राजेश्वर साह, भुपेन्द्र पौडेल लगायतको सहभागिता रहेको थियो ।
सो समारोहमा नेपाल भारत विश्व मैत्री संघ, पर्साका संयोजक धर्मेन्द्र पटेलले अध्यक्ष ज्योतिष मिश्रालाई खादा ओढाएर सम्मान गर्नु भयो ।