Sunday, January 12, 2025
घरसमाचारराष्ट्रवादीहरुले छुट्टाछुट्टै मनाए राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती, राष्ट्रपतिद्वारा शुभकामना सन्देश,...

राष्ट्रवादीहरुले छुट्टाछुट्टै मनाए राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती, राष्ट्रपतिद्वारा शुभकामना सन्देश, माओवादीद्वारा बहिष्कार

काठमाडौँ/ नेपाल अधिराज्यको एकीकरणकर्ता अर्थात राष्ट्रनिर्माता श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस नेपालभरी मनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा राजेन्द्र लिङ्देन), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल, कमल थापा), विश्व हिन्दू महासंघलगायत विभिन्न राष्ट्रवादी संघ संगठनहरूले विभिन्न समुहमा विभक्त भई छुट्टा-छुट्टै रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती मनाएका हुन् ।


राष्ट्रियस्तरमै सरकारले पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको छ । सोही क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले विहान सिंहदरबार गेटमा रहेको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिकमा पुष्पगुच्छा अर्पण गरी राष्ट्रिय एकता राष्ट्रनिर्माता प्रति श्रद्धासुमन अर्पण गर्दै राष्ट्रिय एकता दिवसको अवसरमा देशवासीका नाममा शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति पौडेलले दिनुभएको सन्देशमा भनिएको छ, ” नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।


पृथ्वीनारायण शाहले  स-साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले  निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौं । यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा गरिसकेका छौं । स-साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्‍याएको योगदानलाई हामीले बिर्सन हुँदैन ।


पृथ्वीनारायण शाहलाई सम्झना गर्दा उहाँको दिव्योपदेशको पनि सम्झना गर्नुपर्ने हुन्छ । आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक उहाँका दिव्योपदेशहरू हामीलाई अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेको छ ।


अन्त्यमा, राष्ट्रिय एकता दिवसको यस अवसरले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् यही कामना गर्दछु  ।”

सोही अवसर पारेर राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जलपान तथा चियापान समारोहको आयोजना गर्यो । कार्यक्रममा राप्रपा अध्यक्ष लिङ्देनले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको टिप्पणी गरेका छन्।

लिङ्देनले नियमित रुपमा बोलाउनुपर्ने संसद नवोलाएर अध्यादेश ल्याउने कामले सरकार सर्वसत्तावादतर्फउन्मुख देखिएको टिप्पणी गरेका हुन्।

देशलाई अध्यादेशको बाटोतर्फ लैजानुले सरकारको नियत स्पष्ट भएको उनले बताए। अध्यक्ष लिङ्देनले भने, ‘यो सरकार सर्वसत्तावादतर्फ गइराखेको छ । नियमित रुपमा बोलाउनुपर्ने संसद् नबोलाएर देश अध्यादेशको बाटोमा लैजानुभनेको यो सरकारको नियत के हो भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ । यो सरकार प्रजातन्त्र र बहुदलीय व्यवस्थासमेत मास्न चाहन्छ । यसको हामीले सशक्त प्रतिवाद गर्छौं।’

लिङ्देनले सरकारले बहुदलीय व्यवस्था र प्रजातन्त्र समेत मास्न खोजेको आरोप लगाउदै शसक्त प्रतिवाद गर्ने बताए। त्यस्तै उनले राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिनु उपलव्धीपूर्ण रहेको भन्दै अर्को बर्ष सरकार आफैंले दिवस मनाउनुपर्ने सुझाव दिए।

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, सरकारका मन्त्रीहरु, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रवादी विश्लेषक मणिराज सत्याल, अधिवक्ता सुजित केसी, बिभिन्न दलका नेता कार्यकता तथा शुभेच्छुक लगाएतको उपस्थीति रहेको थियो।

त्यसैगरी कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि बालुवाटारस्थित एक होटेलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गर्यो । सो क्रममा अध्यक्ष थापाले समान विचारधारा भएकाहरूसँग एकता र सहकार्यको प्रयास गर्ने बताएका छन्।

२०७३ सालमा गणतन्त्रको वकालत गरेका पुराना अग्रजलाई आफूले उदारतापूर्वक एकीकृत गरे पनि दुर्घटना भएकाले भन्दै पुनः एकताको प्रयास गर्ने उनले बताए।

थापाले मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने आफ्नो लक्ष्य रहेको धारणा राखे। उनले पृथ्वी जयन्तीलाई हरेक वर्ष मनाउने सरकारी निर्णय र अन्य राजनीतिक दलहरूले पनि राष्ट्रिय दिवस मनाउनु उपलब्धिपूर्ण रहेको उल्लेख गरे।

चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेर बहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललगायत विभिन्न दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति थियो।

विभिन्न राजनीतिक दल एवं संघसंगठनले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकतालाई श्रद्धा एवं हार्दिकताकासाथ मनाइरहँदा नेपाल कम्युनिष्ट पार्टी माओवादी पार्टीका कोही पनि नेता र कार्यकर्ताहरु कुनै पनि समारोहमा उपस्थित नभई राष्ट्रिय एकता दिवसलाई बहिष्कार गरेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -