त्रिशूली (नुवाकोट) । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ ।
गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभइ जाम र वाइनको बजारीकरण पनि गरिरहेको छ ।
दुप्चेश्वर गाउँपालिकाले ‘पोस्ट हार्भेस्ट मूल्य शृङ्खला अभिवृद्धि कार्यक्रम’मार्फत वडा नं. २ कडेनीका किवी प्रशोधन गरी गाउँमै जाम बनाउन सुरु गरेको गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बजारमा फलभन्दा जाम उत्पादन गरेर बिक्री गर्दा किसानले दोब्बर बढी आम्दानी पाइरहेका छन् । किवीको बिक्रीबाट किसानले प्रतिकेजी रु दुई सय ५० सम्म पाएका छन् । सोही परिणामको किवीको प्रशोधन गरेर तयार गरिएको जामबाट दोब्बर लाभ लिएका छन् ।
दुप्चेश्वर महादेव मन्दिर दर्शनका लागि आउने तीर्थयात्रीलाई किवीबाट बनेको जाम मागअनुसार उपलब्ध गराउन नसकिएको गाउँपालिकाको कृषि शाखा प्रमुख सुदेश सुवेदीले जानकारी दिनुभयो ।