कैलाली । सात अर्बको लगानीमा कैलालीको चिसापानीमा जालपादेवि केबलकार निर्माण शुरु भएको छ ।
केबलकारको शिलान्यास गर्दै परराष्ट्र आरजु राणाले राणाले केबलकार निर्माणबाट सुदूरपश्चिम प्रदेशको विकासमा एउटा इँटा थपिएको बताउनुभयो ।
मन्त्री राणाले देश विकासका निजी क्षेत्रको सहकार्य आवश्यक रहेको र त्यसको एउटा उदाहरण यो केबलकार पनि भएकाले यसमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले पुराना कानुका कारण वन मन्त्रालय विकासको बाधक बनिरहेको भन्ने गुनासो आइरहेकाले ऐन कानुन संशोधन गरेर अब देश विकासमा वन बाधक नभएर साधक बन्ने बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहले यो केबलकार सुदूरपश्चिम प्रदेशको आर्थिक संवृद्धिमा टेवा पुगाउने भएकाले यसमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा जालपादेवी केबुलकार निर्माण समूहका प्रमुख चन्द्रप्रसाद ढकालले ७ ओटै प्रदेशमा केबलकार तथा सुविधा सम्पन्न होटल सञ्चालन गर्ने योजना अनुसार सुदूरपश्चिममा पनि यो जमर्को गरिएको बताउनुभयो ।
कर्णाली चिसापानीदेखि राजकाँडासम्म सञ्चालन हुने केबलकार सञ्चालनका लागि करिब सात अर्ब रुपियाँ लगानी लाग्ने अनुमान गरिएको छ । केबलकारको कुल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुनेछ भने दस मिनेटको यात्रा दुरी रहने छ ।