काठमाडौं । २४ कात्तिकमा ठमेलस्थित एक क्लबमा ‘कन्दरा’ ब्याण्डले साङ्गीतिक इतिहास लेख्यो । ३२ वर्षअघि पोखरामा स्थापित सांगीतिक समूहले सो अवसरमा मेलोडी र मिठास पात्र पोखेन, काठमाडौंमा पहिलो पटक साङ्गीतिक प्रस्तुतिमार्फत अभूतपूर्व क्षण सिर्जना गर्यो ।
ब्याण्डले नयाँवर्ष सन् २०२५ लाई अझ विशेष बनाउँदै नयाँ गीत ‘हुनेछ : द सङ अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ । ब्याण्डले नयाँवर्ष अवसरमा ४ जनवरी अर्थात आउने शनिबार (२० पुस)मा यो गीत सार्वजनिक गर्ने भएको छ । सोही मितिबाट ब्याण्डले बेलायतको लण्डनमा प्रस्तुति दिँदै अन्तर्राष्ट्रिय टूरको थालनी गर्दैछ ।
गीतका शब्द तथा सङ्गीत ब्याण्डका ड्रमर सुनिल थापाले तयार पारेका छन् । गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको छ । देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हस्ताक्षरसहित यस गीतको सफलताको शुभकामना दिएका थिए । कन्दरा ब्याण्डका ‘लेककी हे माया’, ‘बिदेशिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’, ’भेडी गोठैमा’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ‘बिचरा म’ धेरै रुचाइएका छन् ।
कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन् । विशेष गरी, ड्रम्समा रहेका सुनिल थापा ब्याण्डका स्थापना कालदेखिका सदस्य हुन् ।
ब्याण्डले आन्तरिक र बाह्य पर्यटनलाई बढावा दिने उद्देश्यका साथ देश घुम्न, देश बुझ्न ‘पहिला घरदेश अनि परदेश’ नारासहित नेपाल टुर अन्तर्गत गण्डकी, कोशी र बागमती प्रदेशमा सफलताका साथ प्रस्तुति सम्पन्न गरिसकेको छ ।
बेलायतबाट विदेश टूर थाल्न लागेको ब्याण्डले मार्च-अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा, र जुलाई-अगस्टमा युरोपका विभिन्न देश पछि अगस्ट–सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम तय गरेको छ । साथै, कतार र सिंगापुरमा पनि साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम छ ।