काठमाडौं। नेपाली जनतालाई अलमलमा पार्ने छद्मभेषी नेताहरूको अब भण्डाफोर गर्नुपर्ने तर्क आम जनता पार्टी (आजपा)का प्रवक्ता चन्द्रभुषण साह (सीबी)ले गरेका छन् ।
उनले भने, “अहिले देशको समग्र व्यवस्था र अवस्था छद्मभेषकाे सिकार भएका छन् । रूप पक्ष र सार पक्ष, भनाई र गराई (कथनी-करणी)मा आज व्यापक भिन्नता आएको छ । जसले गर्दा आम सर्वसाधारण जनतालाई सही र गलत छुट्याउन गाह्रो भएको छ । नेताहरूको झुठा आश्वासन र आडम्बरी आवरणले गर्दा जनता अलमल एवम् कन्फ्युज भएका छन् । स्थानीयदेखि लिएर प्रदेश र संघ सरकार सबैतिर तलदेखि माथिसम्म जताततै घुस, कमिसन, भागवण्डा एवम् भ्रष्टाचार मौलाएको छ । जनप्रतिनिधिहरु सेवक बन्नुको सट्टा शासक/शोसक बनेका छन् ।”
प्रवक्ता साहले आफ्नो गृह नगरलाई समेत लक्षित गर्दै भने, “भ्रष्ट, चोर, ठग, फटाहा, टोले डन-गुन्डा र डकैत लुटेराहरुले नै शासन गर्ने हो भने नाम मात्र भगवानपुर, ईश्वरपुर, ईस्लामपुर वा भक्तिपुर नै राखेर के नै गर्न सकिन्छ र ? खैर स्मरण र हेक्का रहोस् सबै गेरुआ/भगवा वस्त्र धारी ऋषिमुनि र साधु मात्र हुदैनन्, कोहि कोहि त साधुको भेषमा सीता हरण गर्ने छद्मभेषी रावण पनि हुनसक्छ र हुन्छ पनि; ठीक त्यसै प्रकार कथित समाजसेवी र भलादमीको आवरणमा कोहि कोहि तपाई हाम्रो सुन्दर वर्तमान र बालबच्चाको स्वर्णिम भविष्यको सौदागर पनि हुनसक्छ । त्यसैले पनि यस विषम परिस्थितितर्फ तपाई हामी सबैको समयमै ध्यान केन्द्रित हुन जरुरी छ ।”