काठमाडौं । पक्राउ पूर्जी जारी भएको ४ दिनपछि मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् ।
सहकारी, लघुबित्त र बैंकको ऋण नतिर भन्दै खुलेआम भाषण गर्ने, युट्यूबर बोलाएर अन्तर्वार्ता दिदैआएका प्रसाईलाई प्रहरीले आइतबार अपराह्न भक्तपुरबाट पक्राउ गरेको बताएको छ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य नेताहरुका बिरुद्ध आपत्तिजनक अभिब्यक्ति दिंदैआएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो । जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन् ।